नयाँ खिम्तीमा १३२ केभीको सबस्टेसन सञ्चालनमा, दोलखा, रामेछाप र सिन्धुलीको विद्युत आपूर्तिमा सुधार हुने
काठमाडौं । रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे (फुलासी) स्थित नयाँ खिम्ती सबस्टेसनमा निर्माण गरिएको १३२/३३/११ किलोभोल्ट (केभी) सबस्टेसन पूर्वाधार सञ्चालनमा आएको छ । रामेछाप (गज्र्याङ)–नयाँ खिम्ती १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत स्थानीय रुपमा विद्युत आपूर्तिका लागि निर्माण गरिएको सबस्टेसन बिहीबारबाट सञ्चालनमा ल्याइएको हो ।
सबस्टेसनमा ३० एमभिए क्षमताका २ वटा र ३३/११ केभी, ६/८ एभीए क्षमताको १ वटा पावर ट्रान्सफर्मरहरु राखिएका छन् । स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि सबस्टेसनबाट ३३ केभीका ५ वटा र ११ केभीका तीन वटा फिडर लाइनहरु निकालिएका छन् । ३३ केभीका फिडरलाई बिहीबार चार्ज गरी रामेछापको मन्थली, दोरम्बा र दोलखाको केही भागमा विद्युत् आपूर्ति दिन सुरु गरिएको छ ।
११ केभीको एउटा फिडर लाइनमार्फत खिम्ती ग्रामीण विद्युत् सहकारीलाई आपूर्ति दिइने छ । उक्त सहकारी दोलखा र रामेछापको केही क्षेत्रमा विद्युतीकरण गरेको छ । दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले २२०/१३२ केभी क्षमताको नयाँ खिम्ती सबस्टेसन निर्माण गरेको थियो ।
तर, सबस्टेसनमा स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि कुनै व्यवस्था नभएपछि नेपाल विद्युत् प्राधिकरणले १३२/३३/११ केभीको सबस्टेसन पूर्वाधार बनाएको हो । १३२/३३ केभीको पूर्वाधार तयार भएपछि नयाँ खिम्ती सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्ति दिन सुरु भएको छ ।
नयाँ खिम्ती सबस्टेसनमा माथिल्लो तामाकोशीसहित खिम्ती र लिखू नदी करिडोरका जलविद्युत आयोजनाहरुको विद्युत् जोडिएको छ । ती आयोजनाहरुबाट नयाँ खिम्ती सबस्टेसनमा प्रवाह भएको विद्युतलाई १३२/३३ केभी सबस्टेसनमार्फत ३३ तथा ११ केभीमा झारेर स्थानीय रुपमा आपूर्ति गरिएको छ । बाँकी विद्युत्लाई २२० केभी प्रसारण लाइनमार्फत धनुषाको ढल्कबर र १३२ केभी लाइनमार्फत सिन्धुपाल्चोकको लामोसाँघू सबस्टेसनतर्फ प्रवाह गरिएको छ ।
१३२/३३/११ केभी सबस्टेसन सञ्चालनमा आएपछि रामेछाप र दोलखाको केही भागमा त्यहींबाट विद्युत् आपूर्ति दिइएको छ । रामेछाप जिल्लाको पूरै क्षेत्रमा र दोलखाको जिरी नगरपालिका, वैतेश्वर तथा तामाकोशी गाउँपालिका अन्तर्गतका क्षेत्रमा नयाँ खिम्ती सबस्टेसनबाट विद्युत आपूर्ति दिइएको छ ।
दोलखाको ती क्षेत्रमा अहिले लामासाँघू सबस्टेसबाट विद्युत् आपूर्ति हुँदै आएको थियो । साथै, सिन्धुलीको सुनकोशी, फिकल र गोलाञ्जोर गाउँपालिकाअन्तर्गतका क्षेत्रमासमेत नयाँ खिम्ती सबस्टेसनबाट विद्युत आपूर्ति दिइने छ । नयाँ खिम्ती सबस्टेसनबाट आपूर्ति दिन सुरु भएपछि रामेछापलगायतका जिल्लाहरुको विद्युत पर्याप्त, भरपर्दो र गुणस्तरीय भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘नयाँ खिम्तीबाट २२० केभी प्रसारण लाइनमार्फत ढल्कबेर पुगेको विद्युतलाई ३३ केभी प्रसारण लाइनबाट फेरि यतै ल्याएर सिन्धुली, रामेछापमा आपूर्ति गरिएको थियो, लामो लाइन हुँदा ट्रिपिङ, न्यून भोल्टेजलगायतका समस्या थिए । अब नयाँ खिम्तीबाट आपूर्ति हुन थालेपछि विद्युत् आपूर्तिमा रहेका समस्याहरु समाधान हुने छन्, उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत् पाउने छन्’, कार्यकारी निर्देशक घिसिङले भने ।
ढल्केबरबाट मन्थलीसम्मको ३३ केभी प्रसारण लाइनको लम्बाइ करिब ८० किलोमिटर छ । लामो तथा जंगलैजंगलबाट आएको लाइनका कारण रामेछाप र सिन्धुलीका उपभोक्ताहरुले ट्रिपिङ, न्यून भोल्टेजलगायतका समस्या व्यहोर्दै आएका थिए । अहिले नयाँ खिम्तीबाट विद्युत आपूर्ति दिन थालेपछि लाइनको लम्बाइ घट्दा त्यस क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने, लाइन मर्मतसम्भारमा सजिलो हुने आयोजनाका प्रमुख अनुप गौतमले बताए ।
सिन्धुलीको खुर्कोटस्थित सबस्टेसनसम्म नयाँ खिम्ती सबस्टेसनबाटै विद्युत् आपूर्ति दिइने छ । त्यसपछि खुर्कोट सबस्टेसनबाट विद्युत आपूर्ति हुने सिन्धुलीका सुनकोशी, गोलाञ्चोर र फिकल गाउँपालिकाहरुको विद्युत आपूर्तिमा पनि सुधार हुने छ । अहिले ती सबै क्षेत्रमा ढल्केबर सबस्टेसनमार्फत आएको लाइनबाट विद्युत् आपूर्ति हुँदै आएको छ । नयाँ खिम्तीमा १३२/३३ केभीको सबस्टेसन पूर्वाधार निर्माण आर्थिक वर्ष २०७६/७७ मा सुरु गरिएको थियो । नेपाल सरकार तथा प्राधिकरणको लगानीमा निर्माण भएको सबस्टेसनको लागत करिब ८० करोड रुपैयाँ रहेको छ ।