जेठ मसान्तसम्ममा सरकारको आम्दानी ८ खर्ब ३६ अर्ब हुँदा खर्च ११ खर्ब ७६ अर्ब
काठमाडौं । चालु आर्थिक वर्ष २०७९–८० को ११ महिना समाप्त हुँदा सरकारी बजेट खर्च ६५.५६% मात्र देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार जेठ मसान्तसम्म सरकारले ११ खर्ब ७६ अर्ब ६ करोड ५७ लाख रुपैयाँ बराबर बजेट खर्च गरेको हो ।
यता, सोही अवधिमा कुल राजस्व आम्दानी भने ८ खर्ब ३६ अर्ब ८५ करोड ४३ लाख रुपैयाँ मात्र रहेको छ । यस आधारमा हेर्ने हो भने आर्थिक वर्ष सकिन अब १ महिना मात्र रहँदा सरकारको बजेट घाटा २ खर्ब ९५ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।
यता, यो अवधिमा पुँजीगत तर्फ वार्षिक विनियोजनको ४०.२४% मात्र खर्च भएको छ भने चालुतर्फ वार्षिक विनियोजनको ७४.१५% खर्च भएको छ । पुँजीगततर्फ चालु आर्थिक वर्षका लागि ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बराबर विनियोजन भएकोमा जेठ मसान्तसम्ममा १ खर्ब ५३ अर्ब ८ करोड ४२ लाख बराबर मात्रै खर्च भएको छ ।
चालुगत शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड विनियोजन भएकोमा तेस्रो त्रैमास सकिँदा ८ खर्ब ७७ अर्ब ३९ करोड ४४ लाख रुपैयाँ बराबर खर्च भएको देखिएको हो ।