घोराही सिमेन्टको आइपीओमा ९८ लाखभन्दा धेरै कित्ताका लागि पर्यो आवेदन
काठमाडौं । प्रिमियम भाउमा खुला भएको घोराही सिमेन्टको आइपीओमा ४ अर्ब २६ करोड ४० लाख ७० हजार १०० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज दोस्रो दिन (असार १ गते) साँझ ५ः०५ बजेसम्ममा २ लाख ८८ हजार ४५६ जना सर्वसाधारण लगानीकर्ताले ९८ लाख २ हजार ४६० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.४१ गुणा बढी आवेदन हो ।
कम्पनीले बिहीबार (जेठ ३२ गते) देखि सर्वसाधारणका कुल ६९ लाख ११ हजार ६७० कित्ता आइपीओ निष्कासन गरेको हो । कम्पनीले १ सय अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले आइपीओ खुला गरेको हो । यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरिसकेको छ ।
साथै, सामूहिक लगानी कोष र कर्मचारीका लागि पनि सेयर बाँडफाँट गरिसकेको छ । त्यसबेला नबिकेका बाँकी सेयरसमेत थपेर सर्वसाधारणलाई जारी गरेको हो । यसमा असार ४ गतेसम्म आवेदन दिन सकिनेछ । घोराहीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटलले गरेका छन् ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । केयर नेपालले घोराही सिमेन्टलाई ‘केयर एनपी ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ । केयर नेपालले सन् २०२२ जुलाई २२ गते यो रेटिङ दिएको हो । यो रेटिङ सन् २०२३ जुलाई १३ गतेसम्म बाहल रहनेछ ।