पूर्वउपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री खाँणसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश
काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका दुईबाहेक अन्य अभियुक्तहरुलाई थुनामा पठाउन आदेश गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले टंक गुरुङलाई १० लाख र लक्ष्मी महर्जनलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको छ ।
बाँकी पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १६ जनाको हकमा थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
यस्तै, केशव दुलाल, सानु भण्डारी, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल, सागर राई, सन्देश शर्मा, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्द चौधरी, रामशरण केसी, पूर्व सभासद आङटावा शेर्पा, हट कमिटीका अध्यक्ष शम्शेर मिया र हरिभक्त महर्जन पनि थुनामा रहनेछन् ।