आकाशे पानी संकलन तथा भूमिगत जल पुनःभरण परियोजना नेपाली सेनालाई हस्तान्तरण
काठमाडौं । वाटरएड नेपाल र कोका कोला फाउन्डेसनको सहयोगमा, एकीकृत शहरी विकास केन्द्रले आकाशे पानी संकलन तथा भूमिगत जल पुन भरण परियोजना नेपाली सेनाको राज दल गणलाई हस्तान्तरण गरेको छ ।
जनवरी २०२० मा शुरु भएको यस सहकार्यात्मक परियोजना, ललितपुर महानगरका मेयर चिरी बाबु महर्जनको उपस्थितिमा एउटा समारोहका बिच आइतवार सफलतापूर्वक सम्पन्न भई राज दल पाटन ब्यारेकमा हस्तान्तरण गरेको हो ।
पाटन शहरको उच्च स्थानमा अवस्थित, लगनखेल क्षेत्र एउटा प्राकृतिक पुनःभरण क्षेत्र हो जहाँ भूमिगत जल पुनःभरण हुन्छ, जसले सामुदायिक इनार र ढुंगे धारामा पानीको आपूर्ति गर्दछ । यो परियोजना लगनखेल तथा यसका वरपरका क्षेत्रहरूमा भूमिगत जलको पुनःभरण गर्ने गरी र यस प्रविधिलाई अझ व्यापक समुदायहरू माझ प्रदर्शन गर्ने लक्ष्य राखेर सञ्चालनमा ल्याइएको छ ।
ब्यारेकको परिसरभित्र ५१ ओटा फिल्टर च्याम्बरहरू सहितको ५१ पुनः भरण इनारहरू निर्माण गरिएका थिए । यी इनारहरू मार्फत सम्भाव्य जल पुनः भरणको अपेक्षित वार्षिक परिमाण ५ करोड १० लाख लिटर रहेको छ । यसका अतिरिक्त सतहमा बग्ने पानीबाट थिगर तथा बालुवा हटाउनका लागि, यस क्षेत्रमा फोहर पानी ल्याउन सक्ने ठाउँहरूमा तीन ओटा थिगर (सिल्ट) हटाउने बेसिनहरूको पनि निर्माण गरिएको छ ।
भूमिगत जलको पुनः भरण सम्बन्धी पहलकदमीको कार्यकुशलता प्रदर्शन गर्नका लागि एउटा वर्षा बगैँचाको निर्माण पनि गरिएको छ ।
साथसाथै, स्थानीय निकायहरू, नागरिक समाज संगठन तथा शैक्षिक संस्थाहरूलाई संलग्न गर्दै भूमिगत जल पुन भरण सम्बन्धी प्रेरणामूलक तथा सचेतनामूलक कार्यक्रमहरू अझ व्यापक समुदायहरूमा सञ्चालन गरिएका थिए ।
काठमाडौं उपत्यकामा पानीका प्रमुख स्रोतहरू मध्ये भूमिगत जल एउटा स्रोत हो । घरपरिवारमा रहेका तथा समुदायमा रहेका इनार मार्फत र ढुंगे धारा र पानीका मुहानहरू मार्फत भूमिगत जल निकालिन्छ । हरेक मनसुनमा भूमिगत जल छिद्र रहेका माटोको सतह तथा पोखरीहरूमा भुईँमुनि वर्षातको पानी पस्दा प्राकृतिक रूपमा भूमिगत जल पुनः भरण हुन्छ ।
साथै, नजिकै रहेका पानी जम्मा हुने स्थलहरू तथा नहरहरूबाट संकलन गरिएको पानीले उल्लेख्य रूपमा प्राकृतिक भूमिगत जल पुनः भरण र भूमिगत जलको तह कायम राख्न (वा बढाउन) योगदान गर्दछ ।
सम्बन्धित संस्था वा व्यक्ति विशेषको घरधुरीमा रणनीतिक स्थानहरूमा प्रवर्द्धन गर्न सकिने साधारण तथा न्यून खर्च लाग्ने पुन भरण इनारहरूको निर्माण गरेर कृत्रिम पुनः भरण प्रक्रिया मार्फत यो भूमिगत जल तालिकालाई कायम गर्न सकिन्छ । यो कार्य सामुदायिक पोखरीहरूलाई व्युताएर पनि गर्न सकिन्छ । भूमिगत जल पुन भरणले आँधीबेहरीका बखत आउने पानीको पनि व्यवस्थापन गर्दछ, जसले शहरी बाढीको न्यूनीकरण गर्दछ ।
ललितपुर महानगरका मेयर चिरी बाबु महर्जनले भने उहा यस कार्यक्रममा उपस्थित हुन पाउनु भएको खुशी व्यक्त गरे । उनले एकीकृत शहरी विकास केन्द्र, वाटरएड नेपाल, कोका कोला फाउन्डेसन र राज दल सेना ब्यारेकलाईले आकाशे पानी संकलन तथा भूमिगत जल पुनःभरण परियोजना सञ्चालन गरिएकोमा धन्यवाद दिए ।