विमान दुर्घटनामा परेर जंगलमा हराएका चार बालबालिका ४० दिनपछि फेला परे, आमाकाे निधन
कोलम्बियाको अमेजन जंगलमा शुक्रबार ४० दिनपछि चार बालबालिकाको उद्धार गरिएको छ । विमान दुर्घटनामा परेर आमाकाे निधन भएपछि यी बालबालिका अमेजन जंगलमा हराएका थिए ।
भेटिएका चार बालबालिका एकै परिवारका सदस्य हुन् । शनिबार आफ्ना हजुरबा हजुरआमालाई भेटेपछि १३ वर्षीया लेस्लीले आफ्ना ९, ४ र १ भाइहरूलाई कसरी हेरचाह गरेकाे भनेर बताइन्।
लेस्लीकी हजुरआमाका अनुसार उनको नातिनीले घरमा रहेकाे समयमा कपालको रिबनले क्याम्प बनाउने गर्थिइन् ।
वास्तवमा, उनी प्रायः आफ्नो काकी र कान्छो भाइसँग आफ्नो घरमा सर्भाइभल गेम खेल्थिन्। त्यहीँबाट उनले क्याम्प बनाउन पनि सिकिन् । बच्चाकी काकीले लेस्लीलाई फलफूलको बारेमा धेरै थाहा भएको पनि बताइन्। अमेजन जङ्गल नजिकैको घर भएकोले ती बालिकालाई कुन फल खान योग्य र कुन फल विषालु भएकाेबारे ज्ञान थियो । जसका कारण फलफूल, बीउ, जरा र बोटबिरुवा खाएर बालबालिका ४० दिनसम्म उनीहरू जीवित रहे ।
बालबालिकालाई भेटेपछि हजुरआमा फातिमा भ्यालेन्सियाले पृथ्वी माताले आफ्ना बच्चाहरूको हेरचाह गरेकाे बताइन् । उनले भनिन्, “म सधैं कृतज्ञ रहनेछु।” लेस्लीकी आमा काममा जाँदा लेस्लीले नै आफ्ना भाइहरूको हेरचाह गर्ने गरेको पनि उनले बताइन् । जसकारण तिनीहरूलाई जंगलमा पनि बाँच्न मद्दत गर्यो।
मे १ मा सेसना २०६ विमान अमेजन जंगलमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा पाइलटसहित ३ जनाको मृत्यु भएको थियो । यी बालबालिकाकी आमा पनि साे विमानमा सवार थिइन्। विमानको भग्नावशेष १६ दिनपछि फेला परेको थियो । तर बालबालिका भने विमान आसपासमा भेटिएनन् । उनीहरू बेपत्ता भएका थिए । घटनाको जानकारी पाएपछि कोलम्बियाली सरकार र सेनाले बालबालिकाको उद्धारका लागि अपरेशन होप सुरु गरेकाे थियाे ।
कोलम्बियाका सेनाले ४० दिन पछि, जुन ९ मा ४ बालबालिकाहरूलाई भेटाएका थिए। फेला पर्ने बालिकाकाे उमेर १३ रहेकाे छ भने उनका भाइहरू ९ वर्ष, ४ वर्ष र १ वर्षका रहेका छन् । उद्धारका क्रममा सेनाहरूले जंगलमा कैंची, दुधको बोतल, कपालको रिबन, फाेहाेर डायपर, पाइलाकाे डाेब र अस्थायी आश्रय फेला पारेका थिए। यसैगरी, बालबालिकालाई एक ठाउँमा रोकिन वा संकेत दिन सकियाेस् भन्ने उद्धेश्यले हजुरआमाको आवाजमा रेकर्ड गरिएको सन्देश पनि बजाउने गरिएकाे थियाे
काेलम्बियाका सेनाका एक अधिकारीले उद्धार र खोजी अभियानमा १०० भन्दा बढी सैनिक संलग्न रहेको बताएका छन् । सेनाको विमान र हेलिकप्टर पनि बालबालिकाको खोजीमा जुटेका थिए। यस्तै, स्निफर कुकुरको पनि सहयोग लिइएको थियो । नागरिक उड्डयन प्राधिकरणका अनुसार विमान दुर्घटना भएपछि ती बालबालिका सहयोगकाे खाेजीमा दुर्घटनास्थलबाट हिँडेका थिए । तर, यतिका दिनसम्म बालबालिका कसरी बाँचे भन्नेबारे खुलिसकेकाे छैन ।
उद्धारपछि चार बालबालिकालाई बोगोटाको अस्पतालमा भर्ना गरिएको थियो । राष्ट्रपति गुस्ताभो पेट्रोले अस्पताल पुगेर बालबालिका, डाक्टर र उद्धार टोलीलाई भेटेका थिए। अमेजन जङ्गलबाट बालबालिकाको सकुशल उद्धार गरेकोमा राष्ट्रपतिले जवानहरूलाई बधाई दिए। यो परिवार गुआनानो समुदायको हो। यस समुदायका एक व्यक्तिका अनुसार यी बालबालिकालाई हजुरआमाले हुर्काएकी हुन्। साेहि क्रममा उनले समुदायका मानिसहरूसँग जे पनि सिकेका थिए त्यो जंगलमा काम लाग्याे।
शुक्रबार सेनाका जवानहरूले जंगलमा बालबालिकालाई भेट्नासाथ “चमत्कार” “चमत्कार” चिच्याउन थाले। खासगरी, “चमत्कार” शब्दलाई सेनाले बालबालिका खोज्ने कोडको रूपमा प्रयोग गर्न आग्रह गरेको थियो। त्यसपछि सेनाहरूले उनीहरूलाई केही खानेकुरा दिएका थिए। जसपश्चात बालबालिकाहरूलाई एयरलिफ्ट गरिएर जंगलबाट सिधै अस्पताल लगिएकाे थियाे।
लेस्ली र उनका तीन भाइहरू भेटिएकाे जानकारी सबैभन्दा अगाडि राष्ट्रपतिलाई गराइएको थियो ।राष्ट्रपतिले भने, “यो ऐतिहासिक क्षण हो जुन कुनै चमत्कारभन्दा कम छैन । यो सम्पूर्ण देशको लागि उत्सवको दिन हो। ती बालबालिकाहरू आफैं ४० दिनसम्म त्यो जङ्गलमा जीवित रहे । यो संसारका लागि कठिन परिस्थितिमा बाँच्ने सबैभन्दा ठूलो उदाहरण हो।”
अमेजनकाे जंगल विश्वकै सबैभन्दा ठुलाे रेनफरेस्ट हाे । यसकाे क्षेत्रफल ६९ लाख स्क्वायर किलाेमिटर रहेकाे छ । याे जंगल अमेरिकी महाद्धीपका ९ देशहरूमा फैलिएकाे छ ।