बैशाखसम्ममा भित्रियो १० खर्ब बढी रेमिट्यान्स, मासिक एक खर्ब बढी रेमिट्यान्स भित्रिदै
काठमाडौं । पछिल्लाे समय मासिक १ खर्ब बढी रेमिट्यान्स नेपाल भित्रिन थालेको छ। चालु आर्थिक वर्षकाे १० महिना अर्थात बैशखसम्म कुल १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
गत आर्थिक वर्षको बैशाखको तुलनामा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको हो। चालु आर्थिक वर्षमा औसतमा १ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको छ ।
बैशाखसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.४ प्रतिशतले बढेर ४ लाख २१ हजार २७९ पुगेको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले वृद्धि भई २ लाख ३८ हजार ९७६ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८५.५ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा खुद ट्रान्सफर २२.५ प्रतिशतले बढेर ११ खर्ब १० अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.३ प्रतिशतले बढेको थियो।