सामाखुशी खोला नै ढाक्ने गरी बनाइएका कंक्रिट संरचना महानगरले भत्कायो
काठमाडौं । काठमाडौंको सामाखुशी खोला नै ढाक्ने गरी बनाइएका कंक्रिट संरचना (स्ल्याब) हटाइएको छ । बसुन्धरादेखि विष्णुमतीसम्म पर्ने सामाखुशी खोलामाथिको कंक्रिट संरचना हटाउन काठमाडौं महानगरले डोजर चलाएको हो ।
काठमाडौ महानगरका नगर प्रहरी प्रमुख एसपी राजु पाण्डेले शुक्रबारदेखि महानगरपालिकाले सामाखुशी खोला अतिक्रमण गरेर बनाइएका कंक्रिट ढलान, छोप्न प्रयोग भएका सामानहरु हटाउन सुरु गरेको बताए ।
‘खोला सतहमाथि कंक्रिटले ढाकेका ५–६ किलोमिटर जति ठाउँहरु हटाउनुपर्ने देखिएको छ, बसुन्धराबाट हटाउन सुरु भएको छ,’ पाण्डेले भने ।
सामाखुशी खोलालाई प्राकृतिक रुपमा आफ्नै ढंगले बग्न दिनका लागि अतिक्रमित क्षेत्रका भौतिक संरचना हटाउन सुरू गरिएको उनको भनाइ छ ।
सामाखुशी खोला किनारमा स्थानीयले घर बनाउँदा सडकका लागि छोड्नुपर्ने ४ मिटर क्षेत्र नछोडिकन घर बनाएर खोला माथि स्ल्याब ढलान राखेर बाटोको रुपमा प्रयोग गरेको बताए । ‘स्थानीयले घर अगाडि छोड्नुपर्ने ४ मिटर क्षेत्र नछोडी खोला नै छोप्ने गरी कंक्रिट ढलान गरेर बाटो बनाएको पाइएको छ । ती सबै संरचना अब महानगरले हटाउँछ,’ पाण्डेले भने ।
सामाखुशी खोलालाई प्राकृतिक रुपमा आफ्नै ढंगले बग्न दिनका लागि अतिक्रमित क्षेत्रका भौतिक संरचना हटाउन सुरू गरिएको उनको भनाइ छ ।