नेपाल–चाइना फ्रेण्डसीप ड्रागन वोट फेस्टिभल २०२३ को तयारी तिव्र
काठमाडौं । असार ८ र ९ गते पोखरामा आयोजना हुन गइरहेको नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट फेस्टिभलको तयारी तिब्र रुपमा भएको छ । बिहीबार नेपाल पर्यटन बोर्ड पत्रकार सम्मेलन गर्दै आयोजकले फेस्टिभलको तयारी तिव्र रुपमा भइरहेको जानकारी दिए ।
नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दुतावास र पोखरा महानगरपालिकको आयोजना तथा पोखरा पर्यटन परिषद र चाइना ओभरसीज एशोसिएसनको सहआयोजना एवं होटल एशोसिएशन नेपाल (हान) र नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा) सँगको सहकार्यमा हुन लागेको हो ।
नेपाल र चीन बीच लामो समय देखि आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहँदै उल्लेख गर्दै यस प्रकारको कार्यक्रमले दुई देश तथा जनस्तरमा रहको सम्बनध सुमधुर हुनुका साथै नेपालको पर्यटन प्रर्वद्धन गर्न सघाउ पुग्ने चिनियाँ दुतावास, काठमाडाैंकाे डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ जिनले बताए ।
‘यस्तो वोट फेस्टिभल ५० भन्दा बढि देश तथा क्षेत्रहरुमा आयोजना हँदै आइरहको छ, नेपालमा आयोजना गरिएको यो कार्यक्रम दक्षिण एशिया मै पहिलो हो, यो फेस्टिभलमा एशियन गेममा समेत सहभागी गराइने खेल रहेको छ,’ उनले भने ।
यस्तै, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा। धनन्जय रेग्मीले नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको यस प्रकारको कार्यक्रमले समग्रमा नेपाल कै पर्यटनमा नयाँ आयाम थप्ने तथा पोखराको पर्यटलाई थप चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेको बताए ।
‘यो कार्यक्रमले नेपालको समग्र पर्यटनमा नयाँ प्रडक्टका रुपमा थपिने छ नै । यसका माध्यमबाट हरेक वर्ष थप पर्यटक ल्याउन सकिन्छ, यसमा सबै सरोकारवालाहरुको सहयोग र सहभागिता जरुरी छ,’ उनले भने ।
पोखरामा अन्तरराष्ट्रिय विमानस्थल निमार्ण सम्पन्न भएको अवस्थामा यस प्रकारका कार्यक्रमले विदेशीलाई पोखरामा आमन्त्रण गर्न र विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालन गर्न पनि यस कार्यक्रमले सघाउ पुग्ने अपेक्षा गरिएको उनले बताए । यो कार्यक्रममा पनि चीनबाट चार्टर उडान गर्ने प्रयास भइरहको उनले जानकारी दिए ।
नेपालमा चीनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रमा सम्बन्धमा गत वैशाख २१ गते बिहीबार नेपाल पर्यटन बोर्ड र चिनीयाँ दुतावासका अधिकारी तथा पोखरा महानगरपालिकाका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।