डेभलपमेण्ट बैंकर्स एशोसियसन र एस.ए.आर. एड्भाइजर्सको सहकार्यमा ‘एनएफआरएस–९ तालिम’ संचालन
काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपाल र एस.ए.आर. एड्भाइजर्सको संयुक्त आयोजना र ई एण्ड वाई श्रीलंकाको सहयोगमा संचालन हुने ३ दिने “एनएफआरएस–९ तालिम” कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विष्रुत थापाले गरेका छन् ।
डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपालका अध्यक्ष सुयोग श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन सत्रमा इन्ष्टिच्यूट अफ चार्टड एकाउन्टेन्ट्स नेपाल (आइक्यान)का पुर्व अध्यक्ष सुनिर ढुंगेल तथा डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपाल (डिबान)का पदाधिकारीहरुको समेत उपस्थिति थियो ।
उक्त तालिम ई एण्ड वाई श्रीलंकाका साझेदार रजिथ परेराले दिइरहेका छन् । ३ दिनसम्म चल्ने उक्त तालिममा विकास बैंकका वित्त, लेखापरिक्षण आदि विभागका कर्मचारीहरुको सहभागिता रहेको छ । कार्यक्रमको तेस्रो दिन विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई समेतलाई प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ ।
नेपालका बैंक तथा वित्तीय संस्थामा एनएफआरएस लागू भइसकेको छ । एनएफआरएस–९ लागू हुने चरणमा रहेकाले त्यसैको तयारीका लागि डेभलपमेण्ट बैंकर्स एशोसियसनले यस्तो अग्रसरता लिएको हो ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक विष्रुत थापाले डेभलपमेण्ट बैंकर्स एशोसियसनले योजनाबद्धरुपमा आफ्ना सदस्य बैंकहरुलाई एनएफआरएस–९ को आवश्यक तयारी गर्न गराउनको लागि विशेष पहल गरेको देख्दा खुशी लागेको बताउदै नियमनकारी निकायको निर्देशनमा मात्र भर पर्नु भन्दा पनि यसरी आफै अग्रसर भइ कार्य गर्दा सबैलाई राम्रो हुने बताए ।
आइक्यानका पुर्व अध्यक्ष सुनिर ढुंगेलले कार्यक्रमको सफलताको शुभकामना दिदै विकास बैंकहरुका लागि आवश्यक पर्ने ज्ञान आदान प्रदान गर्न आफुहरु सदैव तत्पर रहेका बताए ।
डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपालका अध्यक्ष सुयोग श्रेष्ठले एनएफआरएस–९ का बारेमा वित्त विभागका कर्मचारीले मात्र बुझेर नपुग्ने, त्यसका लागि व्यवसाय विभाग, कर्जा विभाग, उच्च व्यवस्थापनका कार्यकारीहरु लगायतले जान्न र बुझ्नु पर्ने विषय भएकाले सुझाबका र आवश्यक्ताका आधारमा थप कार्यक्रम गर्दै जाने बताए ।