लगानीकर्ताहरूले सबै ब्रोकर कार्यालयमा गरे तालाबन्दी

काठमाडौँ । शेयर बजारका लगानीकर्ताहरुले सबै ब्रोकर कार्यालयमा ताला लगाएका छन्। विगत चार दिनदेखि आन्दोलनरत लगानीकर्ताले आगामी आर्थिक वर्षको आर्थिक विद्ययक संसोधन नभएसम्म शेयर कारोबार खुल्ला हुन नदिने चेतावनी दिँदै तालाबन्दी गरेका हुन्।
बजेटको नयाँ व्यवस्थाले केवल पूँजी बजार र घर जग्गा काराेबारमा मात्र नभइ समग्र अर्थतन्त्रलाई नै क्षति पुर्याउने लगानीकर्ताहरूकाे भनाइ छ। विद्यमान पूँजीगत लाभकर ५ र ७.५ प्रतिशत नै अन्तिम कायम गर्नुपर्ने शेयर बजारका लगानीकर्ताहरुको माग छ।
हाल तिर्दै आएको पूँजीगत लाभकर अन्तिम कर हो वा होइन भन्नेमा लगानीकर्तामा दुविधा उत्पन्न भएको छ। आज बिहान अर्थमन्त्री डा. प्रकाश शरण महतको घर घेराउ गर्न गएका थिए। अर्थमन्त्रीको घरमा प्रहरीले रोके पछि लगानीकर्ताहरु ब्रोकरको कार्यालयमा तालाबन्दी गरेको लगानीकर्ता तिलक कोइरालाले बताए।
यदि कुनै ब्रोकरले ताला खोलेमा त्यसपछि आउने परिस्थितिको जिम्मेवार स्वयम हुने लगानीकर्ताहरुको चेतावनी छ।