सिमेन्ट, फलामे डण्डी बिक्री गर्दा भने भ्याट र अन्तःशुल्क छुट पाइने
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यमार्फत मुलुकमा आत्मनिर्भर भएका औद्योगिक वस्तुको संरक्षण गर्ने नीति लिएका छन् । अर्थमन्त्री महतले मुलुकमा आत्मनिर्भर भएका औद्योगिक वस्तुको स्वदेशी उत्पादनलाई संरक्षण गर्न केही वस्तुको आयातमा लाग्ने महसुल वृद्धि गर्ने घोषणा गरेका छन् ।
पछिल्लो समय नेपाल सिमेन्ट, फलामे डन्डी, फलामे पाइप तथा प्लाष्टिकका पाइप, जस्तापाता, विद्युतीय केवल जस्ता वस्तुहरु स्वदेशमा प्रशस्त उत्पादन हुने गरेको छ । यस्ता वस्तुहरु आयात गर्दा लाग्ने कर छुट हुने गरी कुनै सम्झौता गर्न बजेटमार्फत निषेध गरिएको छ । कर छुटमा सामान आयात गर्दा विदेशी आयातित सामाग्रीसँग प्रतिस्पर्धा गर्न नसकी स्वदेशी वस्तुको बजार गुम्ने आँकलनसहित अर्थमन्त्रीले स्वदेशी वस्तुको बजार सुनिश्चित गर्न यस्तो निर्णय गरेका हुन् ।
स्वदेशी उद्योगको उत्पादन प्रवर्द्धन गर्न आगामी साउन १ गतेपछि सम्झौता हुने आयोजनाका लागि आवश्यक पर्ने नेपालमा उत्पादित वस्तु आयात गर्दा महसुस छुट हुने गरी सम्झौता गर्न नपाइने बजेटमा उल्लेख छ । स्वदेशी उद्योगले यस्ता वस्तु आयोजनालाई बिक्री गर्दा लाग्ने मूल्य अभिवृद्धि कर र अन्तःशुल्क छुट दिएर बिक्री गर्न सक्ने व्यवस्था समेत बजेटले मिलाएको छ ।