युनिक नेपाल लघुवित्तको भोलीदेखि एफपीओ आउने, प्रतिकित्ता सय रुपैयाँमै आवेदन दिन पाइने
काठमाडौं । युनिक नेपाल लघुवित्तको बिहीबार जेठ ११ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री खुला हुने भएको छ । यस लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको एफपीओ जारी गर्न लागेको हो । यसआधारमा १ सय अंकित मूल्यमा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन हुनेछ ।
युनिक नेपाल लघुवित्तको एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा जेठ १६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ २५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले यस कम्पनीको एफपीओलाई केयर एनपी बी प्लस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको संकेत गर्छ ।
यस कम्पनीको एफपीओेमा लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । साविकको युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्त मर्जर भई बनेको यस लघुवित्तमा संस्थापक सेयर ९४.०१% र सर्वसाधारण सेयर ५.९९% हिस्सा रहेको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने–गाभिनेका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम सो सेयर अनुपात मिलाउन एफपीओ जारी गर्न लागेको हो ।
हाल यस लघुवित्तको चुक्ता पुँजी ११ करोड ६ लाख ३२ हजार ५ सय रुपैयाँ रहेको छ । एफपीओ बाँडफाँटपश्चात चुक्ता पुँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । जसअनुसार संस्थापक समूहको सेयर स्वामित्व ७०% र सर्वसाधारणको ३०% हिस्सा रहनेछ ।