ब्रोकर लाइसेन्स पाएका ७ कम्पनीलाई धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालद्वारा प्रमाण पत्र प्रदान
काठमाडौं । लाइसेन्स पाएका ७ वटा नयाँ ब्रोकर कम्पनीहरुलाई धितोपत्र बोर्डले मंगलबार प्रमाणपत्र प्रदान गरेको छ । बोर्डका अध्यक्ष रमेश हमालले ती ब्रोकर कम्पनीका सञ्चालकहरुलाई प्रमाणपत्र प्रदान गरेका हुन् । अब यी कम्पनीहरुले ब्रोकरेज आवश्यक प्रक्रियाहरु पूरा गरेर काम सुरु गर्न सक्नेछन् । लाइसेन्स पाएका ७ सहित अब ब्रोकर संख्या ५७ वटा पुगेको छ ।
नेपाल धितोपत्र बोर्डको सोमबार बसेको सञ्चालक समिति बैठकले एलओआई पाएका ४३ मध्ये ७ वटालाई ब्रोकर कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको यियो । यी कम्पनीले बोर्डले तोकेको मापदण्ड पूरा गरेकाले लाइसेन्स दिने निर्णय गरिएको बोर्डको भनाई छ ।
एलओआई पाएका बाँकी कम्पनीहरुले पनि आवश्यक भौतिक पूर्वाधार विस्तार गरेपछि क्रमशः लाइसेन्स पाउँदै जानेछन् ।
नयाँ ब्रोकर लाइसेन्स प्राप्त गर्ने कम्पनीहरुमा भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालयन ब्रोकरेज, सन सेक्युरिटिज रहेका छन् । यसैगरी, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज र प्रोपर्टी विर्जाडले पनि लाइसेन्स पाएका छन् ।