काठमाडौंमा सम्पदा घुम्ती बस सेवा शुरु, सम्पदा क्षेत्रहरुको पर्यटन प्रवद्धृन हुने अपेक्षा

काठमाडौं । काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवद्धृन गर्ने उद्धेश्यले आजबाट काठमाण्डौमा सम्पदा घुम्ती बस सेवा शुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायात, ललितपुरको सहकार्यमा विश्व सम्पदा सुचिमा सुचिकृत सम्पदाहरु– पाटन दरबार स्क्वायर, काठमाण्डौं दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुसम्म सहज पहुँच हुने आजबाट “सम्पदा घुम्ती बस सेवाको परिक्षण सञ्चालन गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराती र ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले आज ललितपुरबाट सम्पदा घुम्ती बस सेवाको शुभारम्भ गरेका हुन ।
बस सेवाको शुभारम्भ गर्दै मन्त्री किरातीले यो बस सेवा सञ्चालनले काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवद्धृन हुने अपेक्षा गरिएको बताए । उनले उपत्यकाको पर्यटन प्रर्वद्धनको लागि यो एउटा सानो प्रयास भएको बनाउँदै यसको परिक्षण पश्चात सेवा विस्तार गरिने समेत जानकारी दिए । आज शुरु भएको सम्पदा बसमा पर्यटन मन्त्री किरातीले पुल्चोकदेखि नारायणहिटी दरबारसंग्रहालयसम्म यात्रा समेत गरेका थिए ।
शुभारम्भ कार्यक्रममा ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले पर्यटन प्रर्वद्धनका लागि सम्पदा घुम्ती बस सेवा सहयोगी हुने बताए । उनले सबैको समन्वय र सहकार्यमा यसलाई सफल बनाउनु पर्ने समेत बताए ।
पर्यटन बोर्डका वरिष्ठ निर्देशक वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले उपत्यकाको पर्यटन प्रर्वद्धनका लागि बोर्डले साझासंग सहकार्यमा यो सेवा शुरु गरेको जानकारी दिँदै सम्पदा घुम्ती बस सेवाको सञ्चालनलाई सफल र प्रभावकारी बनाउन निजी क्षेत्रका संगठन र व्यवसायीहरुसंग समन्वय र सहकार्य आवश्यक भएको धारणा राखे । साझा यातायातका कार्यबाहक अध्यक्ष सुशिल प्याकुरेलले सम्पदा घुम्ती बसको यातायात रुटमा दैनिक २ वटा विद्युतिय बसहरु सञ्चालन हुने र यसको सफलताको आधारमा अरु बस थपिने जानकारी दिए ।
पर्यटन बोर्डका अनुसार सम्पदा घुम्ती बस विहान ८ः०० बजे देखी बेलुकी ६ः०० बजे सम्म हुनेछ । जसअनुसार बस जाँदा साझा यातायात, पुल्चोक टुरिष्ट बसपार्क (ललितपुर महानगरपालिका नजिक),महाकाल मन्दिर, आर्मी हस्पिटल, जमल, दरबारमार्ग ,नारायणहिटी दरबार संग्रहालय, कमलपोखरी , पशुपतिनाथ मन्दिर स्थित टुरिष्ट बसपार्क, गौशाला, चाबहिल चौक, तारागाँउ संग्रहालय हँदै बौद्ध पुग्ने छ । यस्तै फर्किदा तारागाँउ संग्रहालय, बौद्ध,चावहिल चोक,नारायण गोपाल चोक,गंगबु बसपार्क, स्वयम्भु भगवान पाउ, छाउनी संग्रहालय, परोपकार (कालीमाटी) कालीमाटी चोकबाट बल्खु चोक, रिङरोड हुदै एकान्तकुना, सदर चिडियाखाना, जावलाखेल चोक हँदै साझा यातायात, पुल्चोक आउने बोर्डले जानकारी दिएको छ ।