थ्रीस्टार हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । थ्रीस्टार हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज जेठ ९ गते मंगलबार अन्तिम दिन हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । यस कम्पनीले वैशाख ११ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । हाइड्रोपावरले जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको १०% अर्थात ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको छ ।
जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ४ लाख ९२ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको छ । यस आइपीओमा खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ देखि ११ (साविकको बाहुनीडाँडा, डिकुवा, च्याम्सिटार, बडहरे, दुर्छिम, मंगलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खले र राजापानी गाविस) का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं. १ देखि ७ (साविकको याम्खा, डाडागाउँ, छोरम्बु, बतासे, सचिता पोखरी, छिता पोखरी र टेम्मा गाविस) का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
स्थानीय बसिन्दाले यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख ९२ हजार ५०० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई इक्रा एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च स्तरको जोखिम रहेको संकेत गर्छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।