कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ जेठ १९ गतेदेखि बिक्री खुला हुने
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले जेठ १९ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५ सय रुपैयाँको १०% अर्थात १ करोड २१ लाख ८६ हजार ८ सय रुपैयाँ बराबरको आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गर्न लागेको हो ।
जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ लाख २१ हजार ८६८ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्ने छ । उक्त आइपीओमा दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नं. ९ (साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडाहरु) तथा भिमेश्वर नगरपालिका वडा नं. १ (साविकको सुद्रावती गाविसका सम्पूर्ण वडाहरु) का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १०% ले हुन आउने १२ लाख १८ हजार ६ सय रुपैयाँ बराबरको सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन हुनेछ । जसअनुसार प्रतिसेयर १ सय अंकित दरले १२ हजार १८६ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो ।
दुवै समूहका लगानीकर्ताले यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले यसमा असार १ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा असार १७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने आसर १ गतेभित्र आवेदन दिनु पर्नेछ ।
रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई इक्रा एनपी त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।
स्थानीय बासिन्दाले लक्ष्मी बैंक, सिटिजन्स बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।