आधारभूत अस्पतालमा एमडिजिपी र स्त्री रोग विशेषज्ञसहित ५ जना चिकित्सक
काठमाडौं । सरकारले आधारभूत अस्पतालहरुमा एकजना एमडीजीपी चिकित्सकसहित एकजना महिला तथा प्रसूति रोग विशेषज्ञ, कम्तिमा ३ जना मेडिकल अधिकृत र आवश्यक नर्स र प्राविधिक जनशक्तिसहित आधारभूत उपचार सेवा उपलब्ध गराउने भएको छ ।
शुक्रबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन् ।
त्यसका लागि आधारभूत अस्पतालमा प्रयोगशालाका लागि उपकरण तथा सामाग्री एक्सरे, अल्ट्रासाउण्ड, इको र इसिजी लगायतका डाइग्नोस्टिक उपकरण, अक्सिजन सुविधा सहितको एम्बुलेन्स उपलब्ध गराइ सबै आधारभूत स्वास्थ्य सेवा प्रवाह हुने व्यवस्था गरिने सरकारको नीति छ ।
आधारभूत अस्पतालमा काम गर्ने चिकित्सकलाई उच्च चिकित्सा शिक्षामा अध्ययनको अवसर दिइने राष्ट्रपति रामचन्द्र पौडेलले बताए ।