सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत गरिने, राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने
काठमाडौ । सरकारले नीति तथा कार्यक्रम आज शुक्रबार (जेठ ५ गते) सार्वजनिक गर्दैछ। बजेट ल्याउनुअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ । सोही अनुसार आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको हो ।
आज साँझ बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने जानकारी दिइएको छ । आज अपराह्न ४ बजे संघीय संसदको बैठक बोलाइएको छ । सोही बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
प्रत्येक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि बजेटको कार्यदिशमा समेत मानिने नीति तथा कार्यक्रम संसदमा पेश हुन लागेको हो ।
नीति तथा कार्यक्रम आएपछि बजेटको बहस थप तीब्र हुनेछ ।यसपटकको बजेटमा खर्च घटाउने, उत्पादन वृद्धि र रोजगारी सिर्जनातर्फ केन्द्रित हुने अर्थमन्त्रीले बताउँदै आएका छन् ।