सिटी होटलको आईपीओ शुक्रबार बाँडफाँट हुने
काठमाडौँ । सिटी होटल लिमिटेडले बैशाख २५ गतेदेखि २८ गतेसम्म सर्वसाधारणको निष्काशन गरेको शेयर शुक्रबार बाँडफाँट हुने भएको छ । कम्पनीले सञ्चालन गरिरहेको हाेटल ह्यात प्लेस, तहाचाल काठमाडाैंमा शुक्रबार बिहान ८ः३० बजे शेयर बाँडफाँट हुने बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटलले जनाएको हो ।
पछिल्लो तथ्यांक अनुसार कम्पनीको आईपीओमा ११ लाख ६१ हजार २८० आवेदकबाट एक अर्ब २७ करोड ८८ लाख ९९ हजार रुपैयाँ बराबरको १ करोड २७ लाख ८८ हजार ९९० कित्ता शेयरको लागि आवेदन परेको छ ।
यो सर्वसाधारलाई निष्काशन गरिएको १३ लाख ५५ हजार ९४० कित्ता शेयरको ९.४३ गुणा बढी हुन आउँछ ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमद्धारा न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार १ लाख ३५ हजार ५९४ जना योग्य आवेदकले शेयर पाउनेछन् ।