१० महिनामा काठमाडौं महानगरले गर्यो ७ अर्ब ३९ करोड राजस्व संकलन
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष (आव) २०७९/०८० को १० महिना (वैशाखसम्म) मा ७ अर्ब ३९ करोड ४० लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । महानगरले चालु आवमा १० अर्ब ४१ करोड ९५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । जसअनुसार महानगरले लक्ष्यको ७० दशमलव ९६ प्रतिशत राजस्व संकलन गरेको हो ।
गत आव २०७८/०७९ को यसै अवधिको तुलनामा महानगले २ अर्ब भन्दा धेरै राजस्व संकलन गरेको हो । गत आवको १० महिनामा महानगरले ५ अर्ब ३७ करोड २३ लाख रुपैयाँ अर्थात लक्ष्यको ५९ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो । गत वर्ष महानगरले ९ अर्ब ८ करोड ७० लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो
महानगरका अनुसार चालु आवको वैशाख मसान्तसम्म आन्तरिक आयको लक्ष्यमा ९० प्रतिशत प्रगति भएको छ । महानगरले ४ अर्ब ८५ करोड १ लाख रुपैयाँ लक्ष्य राखेकामा ४ अर्ब ३८ करोड ६८ लाख राजस्व उठाएको छ ।
यस्तै आन्तरिक अनुदान तर्फ महानगरले वैशाखसम्म ८६ प्रतिशत लक्ष्य भेटट्याएको छ । २ अर्ब १५ करोड ५६ लाख लक्ष्य राखेको महानगरले १ अर्ब ८६ करोड३६ लाख रुपैयाँ आन्तरिक अनुदान रकम संकलन गरेको हो ।