चलचित्र विकास बोर्डले दाङमा ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ आयोजना गर्ने

काठमाडौँ। चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्ने भएको छ। आगामी असार १,२ र ३ गते दाङ जिल्लामा उक्त महोत्सवको आयोजना गर्ने जेठ २ गते बसेको बोर्ड बैठकले निर्णय गरेको बोर्ड प्रवक्ता के.एल. बुढाथोकीले बताउनुभयो।
महोत्सवको संयोजकमा प्रवक्ता बुढाथोकीलाई नै तोकिएको छ। उक्त महोत्सवमा बालबालिकासँग सम्बन्धित तथा बालबालिकाले नै बनाएका लामा तथा छोटा शिक्षामूलक चलचित्रहरूको प्रदर्शनी हुनेछ। साथै, चलचित्रज्ञान सम्बन्धी हाजिरी जबाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी एवम् फोटो प्रदर्शनी तथा चलचित्र नृत्य प्रतियोगिता समेत हुनेछ।