नेपाल टेलिकमले घटायो भारत र थाइल्यान्डमा प्रयोग हुने रोमिङ सेवाको महसुल

काठमाडौं । नेपाल टेलिकमले भारत र थाइल्यान्डमा नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दरमा उल्लेखनीय रुपमा कमी गर्ने भएको छ।
मे १७ मा मनाइने आईटीयू डे २०२३ को अवसरमा बुधबार (भोलि) देखि लागु हुने गरी नयाँ महसुल दर कायम हुने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।
प्रवक्ता अधिकारीका अनुसार नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइल लिएर यी दुई देश जाने सेवाग्राहीले पहिले भन्दा धेरै नै कम महसुल दरमा रोमिङ सेवा प्रयोग गर्न सक्ने छन्। नयाँ दर अनुसार भारतमा नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा प्रति मिनेट ७ रूपैयाँ मात्र शुल्क लाग्ने छ।
त्यसैगरी नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि प्रतिमिनेट ७ रूपैयाँ लाग्ने छ भने एसएमएस
गर्दा प्रतिएसएमएस ७ रूपैयाँ नै लाग्ने छ। हाल भारतको कुनै नम्बरमा कल गर्दा ३०, अन्य नम्बरबाट आएको कल उठाउँदा १४ र एसएमएस गर्दा २४ रूपैयाँ लाग्ने व्यवस्था छ।