प्रजातान्त्रिक विचार समाजको १२औं महाधिवेशन बुधबारदेखि, प्रथम राष्ट्रपति डा. रामवरण यादवबाट उद्घाटन हुने
काठमाडाैं । प्रजातन्त्रप्रति आस्था राख्ने विभिन्न पेशा व्यवसायमा आबद्ध व्यक्तिको साझा मञ्च प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशन जेठ ३ गते बुधबारदेखि हुने भएको छ । समाजले आज पत्रकार सम्मेलन गरी समाजको २५औँ केन्द्रीय साधारणसभा तथा १२औँ राष्ट्रिय महाधिवेशन जेठ ३ र ४ गते काठमाडौंमा आयोजना गर्न लागेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले प्रजातन्त्रको मुलभूत आदर्श र मान्यताको अभिवृद्धि गराउँदै संसदीय शासन प्रणाली तथा बहुदलीय प्रजातन्त्रलाई सुदृढीकरण गराउने उद्देश्यले स्थापना भएको समाजले १२औँ महाधिवेशन गर्न लागेको जानकारी दिए । ‘भ्रष्टाचारको विरुद्धमा चट्टानी अडान लिँदै आएको समाज पार्टीको विचारभन्दा माथि उठेर सङ्गठित वैचारिक नागरिक समाजका रूपमा अगाडि बढ्दै आएको छ’, उनले भने । बुधबारदेखि सुरु हुने महाधिवेशनमा देशभरका ६० भन्दा बढी जिल्लाका तीन सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने समाजका महासचिव गोकर्ण अर्यालले जानकारी दिए ।
महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम रहेको छ । समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले विसं २०५२ मा स्थापना भएको समाजले प्रत्येक वर्ष लोकतान्त्रिक योद्धा सम्मानबाट विभिन्न व्यक्तिलाई सम्मान गर्दै आएको जानकारी दिनुभयो । समाजले यसअघि लोकतान्त्रिक योद्धा सम्मानबाट सुन्दरराज चालिसे, हसनादेवी, सुशीला कोइराला, भीमबहादुर तामाङ, बलबहादुर राई, द्वारिकादेवी ठकुरानी, कुलबहादुर गुरुङ, इन्द्रकान्त मिश्र, चक्रप्रसाद बाँस्तोला, पुरुषोत्तम बस्नेत, नूतन थपलिया, मैयादेवी श्रेष्ठ, कमल चित्रकार र होमनाथ दाहाललाई सम्मानित गरिसकेको छ ।
यस वर्षको लोकतान्त्रिक योद्धा सम्मान–२०८० बाट डा सुरेश मल्ललाई सम्मान गरिने वरिष्ठ उपाध्यक्ष वाग्लेले बताए । पत्रकार सम्मेलनमा मानव अधिकारकर्मी सुदीप पाठकले सही र सशक्त विचारले नै समाजलाई नेतृत्व प्रदान गर्ने बताए । विचार र मन्थन गरेर राज्यलाई मार्गदर्शन गर्न प्रजातान्त्रिक विचार समाजले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।