मनकामना केबलकार चढ्ने यात्रुको संख्यामा ह्वात्तै वृद्धि, कोभिडयताकै सबैभन्दा धेरै

काठमाडौँ । मनकामना केबलकार चढ्ने यात्रुको संख्या कोभिडयताकै सबैभन्दा बढी भएको छ। ‘कोभिड नियन्त्रणमा आएसँगै मनकामना दर्शन गर्ने भक्तजनको आवागमनमा व्यापक वृद्धि भइरहेको छ। ‘अहिले दैनिक औसत ४ हजार भन्दा बढी भक्तजन र यात्रुले सेवा लिँदै आउनु भएको छ ,’ कम्पनीले विज्ञप्तिमार्फत भनेको छ । वैशाखभर १ लाख २६ हजार यात्रुले केबलकार सेवा लिएका छन् ।
चालु आर्थिक वर्षको वैशाख महिनासम्म केबलकार सेवा लिने यात्रुको संख्या ८ लाख ७० हजार पुगिसकेको छ। आगामी असारसम्म सेवाग्राही संख्या साढे १० लाख पुग्ने प्रक्षेपण रहेको कम्पनीको भनाई छ ।
पछिल्लो समय भारतीय पर्यटकको आवागमनमा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले मनकामना केबलकारलाई केही समयअघि एनालगबाट डिजिटल प्रणालीमा स्तरोन्नतिको गरिसकेको छ। केबलकारको टावर, गोन्डोला, बुलह्वीाल लगायत उपकरण भने साबिककै रहेको छ। यो केबलकार नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार भएको कम्पनीले जनाएको छ।