सोल्टी होटलले बढायो उल्लेख्य नाफा
काठमाडौँ । सोल्टी होटलले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३७ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा २४१.७९% ले धेरै हो । गत वर्षको सोही अवधिमा यो होटलले १० करोड ८५ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।
चैत मसान्तसम्म सोल्टीले व्यवसायबाट कुल १ अर्ब ५० करोड रुपैयाँ आम्दानी गरेको छ । जुन गत वर्षको भन्दा १०२.८९% ले धेरै हो । गत वर्ष होटलले ७४ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
पछिल्लो समयमा पर्यटन व्यवसायमा सुधार आएकोले होटलको सञ्चालन आम्दानीमा उल्लेख्य वृद्धि भएकोले नाफा बढ्न पुगेको छ । यता, आम्दानी बढेसँगै सोल्टीले ४६ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत वर्ष यसले ११ करोड ६६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
चुक्ता पुँजी ८८ करोड ४७ लाख रुपैयाँ रहेको सोल्टीको रिजर्भ कोषमा १ अर्ब ३ करोड रुपैयाँ छ । गत वर्ष यसको रिजर्भ कोषमा ६९ करोड ८२ लाख रुपैयाँ मात्र रहेको थियो ।
सोल्टी होटलको प्रतिसेयर आम्दानी ४ रुपैयाँ २० पैसा र प्रतिसेयर नेटवर्थ २१ रुपैयाँ ७१ पैसा रहेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ २९ पैसा र प्रतिसेयर नेटवर्थ १८ रुपैयाँ २९ पैसा रहेको थियो ।