मे ११ देखि १३ सम्म बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट हुने
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले दोस्रो बुद्धिष्ट अन्तर्र्राष्ट्रिय ट्राभल मार्ट आयोजना गर्ने भएको छ । कोभिड १९ महामारीका कारण सुस्त रहेको पर्यटकीय गतिविधिलाई तीव्र बनाउँदै बुद्धभुमि लुम्बिनीलाई केन्द्रमा राखी नाट्टाले मे ११ देखि १३ सम्म लुम्बिनीमा एक्प्लोर द बुद्धल्यान्ड, गेटवे टु बुद्धिष्ट सर्किट’ नाराका साथ आयोजना गर्न लागिएको हो ।
नेपाल पर्यटन बोर्डको संयोजन र नाट्टाको आयोजनामा हुने उक्त मार्ट आयोजनाको लागि पर्यटन नागरिक उडड्यन मन्त्तालयका सचिवको अध्यक्षतामा एक समिति समेत गठन गरिएस्को छ । ट्राभल मार्टमा भारत, मलेसिया, चीन, कोरिया, बंगलादेश, म्यानमार, थाइल्यान्ड, श्रीलंकाका साथै नेपालबाट ट्राभल/टुर कम्पनीहरु सहभागी हुने हुँदा बीटुबी कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी रहेको छ ।
कार्यक्रम उद्घाटन लुम्बिनीस्थित मायादेवी मन्दिर प्रांगणमा मे ११ को बिहान ९ बजे लुम्बिनी प्रदेशका मुख्य मन्त्री दिल्लीबहादुर चौधरीले गर्ने कार्यक्रम रहेको छ । उद्घाटन पश्चात लुम्बिनीको होटल पवन प्यालेसमा बीटुबी कार्यक्रम आयोजना हुने नाट्टाले जनाएको छ । सोही अवसरमा विभिन्न स्वदेशी तथा विदेशी विज्ञहरुद्वारा कार्यपत्र प्रस्तुतिसहितको सेमिनारको संयोजन प्रा.डा. हिमलाल घिमिरेले गर्नेछ । कार्यक्रममा प्रा.डा. म्याक्स डिग, मो. मोहियुद्दिन हेलाल, डा. किरण अजित सिन्डेलगायतले कार्यपत्र प्रस्तुत गर्नेछन् ।