यौन दुराचार मुद्दामा ट्रम्प दोषी ठहर, पीडित महिलालाई ५० लाख अमेरिकी डलर क्षतिपूर्ति
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहरिएका छन् । न्युयोर्कको एक अदालतले पूर्वराष्ट्रपति ट्रम्पलाई दोषी ठहर गर्दै पीडित महिलालाई ५० लाख अमेरिकी डलर क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको हो । एक म्यागेजिनको लेखिका ई जिन क्यारलले ट्रम्पले आफूमाथि सन् १९९० मा यौन दुर्व्यवहार गरेको भन्दै मुद्दा दर्ता गराएकी थिइन् ।
सोही मुद्दामा अदालतले ट्रम्पलाई दोषी ठहर गरेको हो । अमेरिकामा पूर्वराष्ट्रपति भइसकेको व्यक्तिले यौन दूराचार मुद्दामा दोषी ठहर भई यति ठूलो जरिवना तिर्नुपरेको सम्भवतः यो पहिलो घटना हो । पीडित महिलाले यौन दूराचारसहित मानहानी मुद्दासमेत लगाएकी थिइन् ।
यस मुद्दा अनुसार एक डिपार्टमेन्टल स्टोरमा क्यारलको बलात्कार भएको भने दाबीलाई चाहिँ अदालतले पुष्टि नभएको भन्ने फैसला सुनाएको बीबीसीले जनाएको छ । यता, ट्रम्पले भने आरोप झुटो भएको दाबी गर्दै आएका छन् ।
यता, आगामी वर्ष हुने आम निर्वाचनमा ट्रम्प लागि भने यो फैसलाले ठूलो धक्का पुगेको छ, किन भने ट्रम्पले चुनाव लड्ने बताउँदै आएका छन् । अदालतको फैसलाका बारेमा ट्रम्पले सामाजिक सञ्जालमा प्रतिक्रिया दिंदै आफूमाथि आरोप लगाउने महिलालाई आफूले नचिनेको र अदालतको यो फैसला अपमानजनक भएको उल्लेख गरेका छन् ।