आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सको एकीकृत कारोबार शुरू, चुक्ता पूँजी २ अर्ब ९२ करोड
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले आज बैशाख २७ गतेदेखि एकीकृत कारोबार थालेका छन् । दुई कम्पनीबीच मर्जर पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार थालेका हुन्।
बैशाख १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका अनुसार दुई कम्पनीबीच मर्जर भई एकीकृत कारोबार शुरु गर्ने निर्णय गरेको थियो ।
आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सलाई नेपाल धितोपत्र बोर्डले मर्जरको लागि बैशाख १२ गते अन्तिम स्वीकृति प्रदान गरेका थियो ।
आइएमई जनरल र प्रुडेन्सियलबीच माघ २७ गते एकआपसमा मर्जरमा जाने सहमति भएका थिए । दुई कम्पनीबीच १ बराबर १ अनुपातमा मर्जरमा जाने भएका हुन् ।
मर्जर पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी २ अर्ब ९२ करोड ७१ लाख रूपैयाँ पुगेको छ ।