पुँजी बजारमा एनआरएन भित्र्याउन धितोपत्रबोर्डले गठन गर्यो अध्ययन समिति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले दोस्रो बजार कारोबारमा गैर आवासीय नेपाली (एनआरएन) लाई भित्र्याउन अध्ययन समिति गठन गरेको छ । धितोपत्र दोस्रो बजार कारोबारमा विदेशमा रहेका गैर आवासिय नेपालीलाई समेत भित्र्याई पुँजी बजारमार्फत राष्ट्रिय पुँजी निर्माण र परिचालन गर्ने बोर्डको योजना छ ।
धितोपत्र बोर्डमा नेपाल चार्टड एकाउन्टेन्ट संस्थाबाट प्रतिनिधित्व गर्ने संचालक सुजन कुमार काफ्लेको संयोजकत्वमा समिति गठन भएको हो । बोर्डको गत चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उक्त समितिका अन्य सदस्यहरूमा संचालक बोर्डका विज्ञ सदस्य भोला ढुङ्गाना, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सदस्य सचिवमा बोर्डको उपकार्यकारी निर्देशक दीपा दाहाल रहेका छन् ।
धितोपत्र दोस्रो बजारमा प्रोत्साहन गर्न प्रचलित कानुन बमोजिम आवश्यक व्यवस्था गर्नका लागि अध्ययन प्रतिवेदन सहित नियमावलीको मस्यौदा तयार गर्ने अध्ययन समितिलाई जिम्मा दिएको हो । उक्त समितिले तीन महिना भित्र गैर आवासीय नेपालीलाई नेपालको पुँजी बजारमा भित्र्याउन आवश्यक नियमावली तर्जुमा गरी संचालक बोर्डमा पेश गर्ने जनाएको छ ।
साथै, समितिले उक्त नियमावली कार्यान्वयनका हुनसक्ने कठिनाई पहिचान गरी सोका लागि आवश्यक कार्यविधि समेत सिफारिस गर्नेछ । यसरी प्रस्तावित नियमावलीको कार्यान्वयन पश्चात धितोपत्र बजारमा लगानीकर्ताको संख्या वृद्धि भई तरलता समेत अभिवृद्धि हुने, धितोपत्र बजारको माग पक्ष बलियो हुने, बजारको अस्थिरता कम भइ मूल्य जोखिम कम हुने लगायतका सुधार पुँजी बजारमा हुने बोर्डले अपेक्षा गरेको छ ।
तथापि, गैर आवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउन अध्ययन समिति गठन भएको यो पहिलो पटक भने होइन । यसअघि पनि यसबारेमा अध्ययन गर्न धेरै समिति गठन भइसकेका थिए । तर, लामो समय हुँदा पनि यसले पूर्णता पाउन सकेको छैन ।