मंगलबारदेखि पोष्टग्रे एसक्युएल कन्फेरेन्स हुँदै
काठमाडौं । नेपाल पोस्टग्रे एसक्युएल यूजर ग्रुप (एनपी पग) ले दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स आयोजना गर्ने भएको छ । वैशाख २६ गतेदेखि २९ गतेसम्म काठमाडौं विश्वविद्यालय धुलिखेलमा उक्त कन्फेरेन्स आयोजना हुनेछ ।
नेपालमा पोष्टग्रे एसक्युएलको सशक्त कम्युनिटी बनाउने उद्देश्यले कन्फेरेन्स आयोजना गर्न लागेको कार्यक्रमका संयोजक बालकृष्ण बालले बताए ।
४ दिनसम्म सञ्चालन हुने कन्फेरेन्सलाई २ भागमा विभाजन गरिएको छ । पहिलो दुई दिन अर्थात वैशाख २६ र २७ गते पोष्टग्रे एसक्युएल सम्बन्धि तालिम आयोजना हुनेछ ।
तालिममा शिक्षा, उद्योग, सरकारी र गैरसरकारी क्षेत्रहरुबाट करिब ३५ जना सहभागी हुनेछन् । तालिम पोष्टग्रे एसक्युएल क्षेत्रका अनुभवी व्यक्तिबाट दिइने बालले जानकारी दिए ।
२ दिन तालिम भइसकेपछि अर्को दुई दिन वैशाख २८ र २९ गते मुख्य सम्मेलन आयोजना हुनेछ । मुख्य सम्मेलनमा पोस्टग्रे एसक्युएलको क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताको सहभागीता रहनेछ ।
कार्यक्रममा की नोट सेसन, टक सेसन र वर्कशप समेत सञ्चालन हुने आयोजकको भनाइ छ । सन् २०१८ को पोष्टग्रे एसक्युएल कन्फेरेन्स सफल भएपछि संस्थाले दोस्रो पटक कन्फेरेन्स आयोजना गर्दैछ ।
पोष्टग्रे एसक्युएल एक डेटाबेस सोलुसन हो, जसलाई डेटा स्टोर गर्न, रिट्राइभ गर्न प्रयोग गरिन्छ । नेपालको हकमा प्रोष्टग्रे एसक्युएल जीआईएस एप्लिकेसनमा बढी प्रयोग भएको पाइन्छ ।