डाबर नेपालले नौ अर्ब ६८ करोड थप लगानी गर्ने, लगानी बोर्डसँग भयो सम्झौता
काठमाडौं । लगानी बोर्ड नेपाल र बहुराष्ट्रिय कम्पनी डाबर नेपालबीच निजी लगानी अवधारणामा क्षमता अभिवृद्धि तथा वस्तु विविधिकरण परियोजनाको निर्माण, संचालन र व्यवस्थापन गर्नका लागि पुर्नलगानीका रुपमा लगानी हुने परियोजनाको समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
लगानी बोर्डको कार्यालयमा विहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री तथा लगानी बोर्डका सदस्य रमेश रिजालको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपालका तर्फबाट विजनेस हेड हरकिरत सिंह वेदीले हस्ताक्षर गरे ।
उद्योगको दक्षमता अभिवृद्धि तथा उत्पादन विविधिकरणको लागि लगानी बोर्डको ४९औं बैठकले २०७८ माघ २५ मा सम्पन्न बैठकले लगानी स्वीकृत गरेको थियो । डाबर नेपालले पेस गरेको परियोजना प्रस्ताव अनुसार ९ अर्व ६८ करोड रुपैयाँ थप लगानी हुने भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले डाबर नेपालको पुनर्लगानीले लगानीकर्तामाझ ठूलो सन्देश दिएको बताए । नेपालमा लगानी गर्न चासो राख्ने विदेशी लगानीकर्ताले नेपालम लगानी गरिरहेका लगानीकर्ताबाटै सुन्न र यहाँ सञ्चालिन व्यवसाय हेरेर निर्णय लिनसक्ने उनको भनाइ थियो ।
कार्यक्रममा डावर नेपालका बिजनेस हेड वेदीले नेपालमा आर्जित पूँजीको केही हिस्सा उद्योगको क्षमता विस्तार र पूँजी वृद्धिमा लगानी गर्न पाउँदा हर्षित भएको विचार व्यक्त गरे ।
त्यस्तै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले डावर नेपालका तर्फबाट हुन लागेको पुर्नलगानीले लगानीकर्ताको नेपालप्रतिको विश्वास भरोसा र व्यवसाय विस्तारको प्रचुर सम्भावनालाई उजागर गरेको चर्चा गरे ।