मण्डला नाटकघरमा फर्कँदै ‘जून’
काठमाडौँ । जमलस्थित राष्ट्रिय नाचघरमा चैत्र १० गते शुक्रबार गीती नाटक ‘जून’ मञ्चन भएको थियो । नम्रता केसीद्वारा निर्देशित नाटक ‘जून’ ले नृत्यको माध्यमबाट एउटा बाबु र छोरीको संघर्ष र मायाको कथा प्रस्तुत गरेको छ । नाटक हेरेपछि भाबुक हुँदै नाचघरबाट निस्केको दर्शकका प्रतिक्रिया सुन्दा नाटक साँच्चै अब्बल बनेकाे स्पष्ट हुन्थ्याे । एक्लै आएका दर्शकले पनि परिवारको साथ उक्त नाटक हेर्न आउने बाचा गर्दै नाचघरबाट बिदा भएका थिए ।
दर्शकको भरपुर माया पाएकाे त्यही नाटक जूनलाई फेरि एक पटक मञ्चन गर्ने भएकाे छ ।
नाटक परिवार र मित्रजनसँग बसेर हेर्न लायक रहेको निर्माण पक्षकाे भनाइ छ । दर्शककाे लोकप्रियता र मागका कारण, परिवार र मित्रलाई पनि जूनको सन्देश महत्वपूर्ण हुने र मानिसलाई यो प्रेरणादायी लाग्ने भएकोले मण्डला थिएटरमा एस्थेस्टिक डान्स स्टुडियो र सिक्वेल फाउन्डेसनले याे नाटक फेरि मञ्चन गर्न लागेकाे हाे ।
वैशाख १५ – देखि २४ सम्म सााँझ ५:३० बजे र सप्ताहन्तमा २:०० र ५ :३० बजे चलाउने निर्णय गरेका छन् ।
संयोग गुरागाईद्वारा लिखित नाटकले इमानदार समस्यासँग जुध्न सके जस्तोसुकै समस्याको पनि समाधान हुने तर्क प्रस्तुत गरेकाे छ । नाटकमा सलिन मगर र सरस्वति श्रेष्ठको संगीत छ । स्थेस्टिक डान्स स्टुडियोकाे समूहिक प्रस्तुति रहेको छ । नाटकलाई सिक्वेल डान्स फाउन्डेसनले नाचघरमा देखाउने व्यवस्थापन गरेको थियो ।
गीती नाटकमा १३ नारी, ४ पुरुष गरेर कुल १७ कलाकार सम्मिलित छन् । यसपटक भने टिकट सप्ताहन्तमा रु ५०० र सामान्य दिनहरूमा रु ३०० तोकिएको छ । दर्शकले रु १००० को पनि टिकट किन्न पाउनेछन् ।