नबिल बैंकको क्रेडिट कार्ड लाइफ टाइम निशुल्क प्रयोग गर्न सकिने

काठमाडौं । नबिल बैंक लिमिटेडले ’नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकलाई केन्द्रित गरेर नेपालमै पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड ल्याएको दाबी गरेको हो ।
क्रेडिट कार्डको प्रयोग गर्ने ग्राहकहरूले अरू कार्डमा जस्तै कुनै पनि वार्षिक शुल्क, नवीकरण शुल्क वा अन्य शुल्कहरू नलाग्ने नबिल बैंकले जनाएको छ ।
क्रेडिट कार्ड मार्फत ग्राहकहरुले किनमेल गर्न, बिल भुक्तानी गर्न, र नगद झिक्ने सबै सुविधाहरू प्राप्तगर्न सकिने व्यवस्था रहेको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
क्रेडिट कार्डले ग्राहकलाई सजिलो र सस्तो सुविधा लिन सहयोग पुग्ने बैंककी रिटेल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले बताइन् । ’हामी हाम्रो लाइफ टाइम फ्री क्रेडिट कार्ड सुरु गर्न पाउँदा उत्साहित छौँ र यो कार्डले हाम्रा ग्राहकहरूलाई पहिले भन्दा सजिलो र सस्तो सुविधा प्रदान गर्नेमा हामी विश्वस्त छौँ,”उनले भनिन् ।
नबिल बैंकका नयाँ र विद्यमान खाता भएका ग्राहकहरूले यो कार्डका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ । कार्डका लागि आवेदन दिन ग्राहकहरूले नबिल बैंकको वेबसाइटमा गएर वा देशभरका २५६ शाखाहरू मध्ये कुनै पनि शाखामा सम्पर्क गर्न सक्नेछन् । यो योजना सिमीत अवधिका लागि मात्र लागु हुने बैंकले जनाएको छ ।