उद्योगमा देखिएको विद्युत् आपूर्ति समस्या १०/१५ दिनमा समाधान हुन्छ : प्राधिकरण
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कोसी प्रदेशका सुनसरी, मोरङ औद्योगिक करिडोरलगायतका क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या अल्पकालीन भएको प्रष्ट पारेको छ ।
विनाजानकारी उद्योगहरूको विद्युत् आपूर्ति कटौती गरिएको भन्ने उद्योगीहरूबाट गुनासो आएको थियो । गुनासो आएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार ऊर्जा क्षेत्रका पत्रकारहरूसँगको भेटमा त्यस क्षेत्रमा देखिएको समस्या १०/१५ दिनमा समाधान हुने र समस्यालाई बुझिदिन उद्योगीहरूलाई आग्रह गरे ।
यस वर्ष हिउँ/पानी नपरेर सुुख्खायाम लम्बिँदा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादनमा करिब ३० प्रतिशत गिरावट आएको बताइएको छ ।
धनुषाको ढक्केबर सबस्टेसनबाट थप विद्युत् पूर्वतर्फ पठाउन प्रसारण लाइनको क्षमताले नधानेको, सप्तरीको रुपनी सबस्टेसनको बे्रकर चुँडिएको र कटैया–कुशहवा १३२ केभी प्रसारण लाइनमार्फत भारतको बिहारबाट आयात भइरहेको विद्युत् उताबाट कटौती हुँदा मागअनुसार आपूर्ति गर्न समस्या भएको हो, कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे ।
कार्यकारी निर्देशक घिसिङकाअनुसार ताप्लेजुङ, पाँचथर र इलाममा निर्माण भएका जलविद्युत् आयोजनाहरूको जडित क्षमता करिब २०० मेगावाट भएता पनि हिउँ÷पानी नपर्दा अहिले करिब ३० मेगावाट मात्र विद्युत् उत्पादन भई काबेली करिडोर प्रसारण लाइनमार्फत प्रवाह भइरहेको छ । तर, एक दुई दिनदेखि ती आयोजनाहरूबाट विद्युत् उत्पादन बढ्दै गएकोले उद्योगहरूलाई अहिले नियमित विद्युत् आपूर्ति भइरहेको कार्यकारी निर्देशक घिसिङले बताए ।
अहिले प्रणालीमा विद्युत्को उच्चतम माग एक हजार ७५० मेगावाट पुगेको छ । औसत माग एक हजार ३०० मेगावाट र आधार माग एक हजार २७५ मेगावाट रहेको छ । झापाको दमकदेखि अनारमनी क्षेत्रको मात्र विद्युत् माग ८० मेगावाट पुगेको छ ।
प्राधिकरणले कुलेखानी जलाशयलाई २४ सै घण्टा पूर्ण क्षमतामा चलाएको छ । आन्तरिक उत्पादनले विद्युत् माग धान्न नसकेपछि दैनिक रुपमा औसतमा ५० मेगावाट आयात गरिएको छ ।