दोल्ती पावर कम्पनीको आइपीओ आज बाँडफाँट हुँदै
काठमाडौं । दोल्ती पावर कम्पनीको आइपीओ आज शुक्रबार (वैशाख ८ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल मार्केटका अनुसार शुक्रबार दिउँसो ३ बजे आफ्नै कार्यालयमा बाँडफाँटको तयारी गरिएको छ । यसको प्री–अलमेन्ट सम्पन्न भइसकेको छ । यता, दोल्ती पावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ११.६० गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।
यो आइपीओमा १३ लाख ३९ हजार ४४० जनाले कुल १ करोड ४७ लाख ६२ हजार २६० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख २७ हजार १८६ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ११ लाख ४४ हजार ६७५ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।
यस कम्पनीले चैत २८ गतेदेखि १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर निष्कासन गरेको हो । यस मध्ये ५% अर्थात् ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो भने १ लाख ७ हजार २९८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ ।
बाँकी १२ लाख ७१ हजार ८६१ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो । यसमा एनआइसी एसिया क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले दोल्ती पावरको आइपीओलाई औसत जोखिम आधार जनाउने ‘इक्रा एनपी डबल बी’ रेटिङ दिएको छ ।