बीमा कम्पनीको पुँजी वृद्धि गर्ने समय असार मसान्तसम्म
काठमाडौं । नेपाल बीमा प्राधिकरणले चुक्ता पुँजी वृद्धि गर्न समय थप गरेसँगै बीमा कम्पनीहरुलाई राहत पुगेको छ । प्राधिकरणले बीमा कम्पनीहरुलाई पुँजी वृद्धि गर्न असार मसान्तसम्मको समय थप गरेको छ ।
बीमा कम्पनीहरुले प्राधिकरणले तोकेको समयमा पुँजी वृद्धि गर्न नसकेपछि कम्पनीहरुको अनुरोधमा पूँजी वृद्धिका लागि समय थप गरिएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिएका हुन् ।
प्राधिकरणले २०७८ गत चैत १० गते सबै बीमा कम्पनीहरुलाई पुँजी वृद्धिको योजना पेश गर्न निर्देशन दिएको थियो । प्राधिकरणले बैशाख ११ गतेसम्मको लागि अल्टिमेटम दिँदै निर्जीवन बीमा कम्पनीले साढे २ अर्ब रुपैयाँ र जीवन बीमा कम्पनीले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने योजना पेश गर्न भनेको थियो । यो निर्देशन गत चैत मसान्तसम्म कार्यान्वयन गर्न समेत प्राधिकरणले भनेको थियो ।
प्राधिकरणले ताकेको निर्देशन अनुसार हालसम्म चार वटा कम्पनीले मात्रै प्राधिकरणले तोके हनुसारको चुक्ता पुँजी पुर्याएका छन् । जसमा जीवनबीमा कम्पनीतर्फ नेपाल लाइफ र निर्जीवन बीमा कम्पनी तर्फ शिखर इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर र सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्स रहेका छन् ।
प्राधिकरणले पुँजी वृद्धिलाई जोड दिनुको पछाडि मर्जरका लागि प्रोत्साहन गर्नु समेत कारण रहेको थियो । त्यसैले हकप्रद शेयर जारी गर्न नदिई मर्जर र एक्वीजिसनलाई प्राधिकरणले जोड दिँदा हालसम्म १२ वटा निर्जीवन र नौ वटा जीवन बीमा कम्पनीले मर्जर सम्बन्धी सम्झौता समेत गरिसकेका छन् ।
पुँजी वृद्धिका लागि प्राधिकरणले दिएको निर्देशन अनुसार हालसम्म पनि नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले पुँजी वृद्धिको योजना बुझाएका छैन । उक्त कम्पनीहरुलाई कारवाही गरिने प्राधिकरणले जनाएको छ ।
मर्जरको सम्झौता गरेको मध्ये कतिपयले त एकीकृत कारोबार समेत थालिसकेको अवस्था छ । चैत्र ९ गतेदेखि सानिमा लाइफ र रिलायन्स लाइफ ले सानिमा रिलायन्सको नामबाट एकीकृत कारोबार गरेका छन् भने गत पुस ७ गते देखि सूर्य र ज्योति लाइफ मिलेर सूर्य ज्योति लाइफको नाममा एकीकृत कारोबार गर्दै आएका छन् ।
निर्जीवन बीमा तर्फ हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स, सगरमाथा र लुम्बिनी, प्रिमियर र सिद्धाथका साथै सानिमा र जनरल इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरिसकेका छन् । उता जीवन बीमा तर्फ प्राइम लाइफ, गुराँस लाइफ युनियन लाइफ एक हुँदै छन् भने प्रभु र महालक्ष्मीले पनि मर्जरमा जाने सम्झौता गरेका छन् ।
यसरी गाभिने तथा एक अर्कालाई प्राप्ति गर्ने क्रमबाट बनेका कम्पनीहरूको हकमा भने चुक्ता पुँजीको दबाब रहने छैन । उनीहरूले थप एक वर्षको समय प्राप्त गर्नेछन् ।
मर्जरमा गएका बीमा कम्पनीहरूमध्ये निर्जीवन बीमा कम्पनीतर्फ सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स मिलेर बनेको सलि इन्स्यारेन्सको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स मिलेर बनेका सिद्धार्थ प्रिमियर इन्स्यारेन्सको चुक्ता पुँजी २ अर्ब ५१ करोड पुगेको छ ।
हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मिलेर बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको पनि बोनस शेयर वितरणपछिको चुक्ता पुँजी २ अर्ब ३० करोड पुग्नेछ । प्राधिकरणले तोकेको पुँजी पुर्याउन अझै १९ करोड ८४ लाख रुपैयाँ आवश्यक पर्नेछ ।
त्यस्तै, साबिक सानिमा जनरल र जनरल इन्स्योरेन्स मिलेर बनेको सानिमा जिआईसीको चुक्ता पुँजी २ करोड रुपैयाँ रहेको छ । प्राधिकरणले तोके बमोजिमको साढे दुई अर्ब रुपैयाँ पुँजी पु¥याउन कम्पनीले अब ५० करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ ।
जीवन बीमा कम्पनीतर्फ
यता जीवन बीमा कम्पनी तर्फ मर्जरमा गई एकीकृत कारोबार गरेका कम्पनीहरूमध्ये सूर्य लाइफ र ज्योति लाइफ मिलेर बनेको सूर्य ज्योति लाइफको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । प्राधिकरणले तोके अनुसारको पुँजी वृद्धि गर्न ४६ करोड रुपैयाँ थप गर्नुपर्ने छ ।
त्यस्तै, रिलायन्स र सानिमा लाइफको एकीकृत कारोबार पछिको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख पुगेको छ । कम्पनीले थप ८१ लाख भन्दा बढी चुक्ता पुँजी थप गर्नुपर्ने छ । एकीकृत कारोबारको तयारीमा रहेका प्रभु र महालक्ष्मी लाइफ मर्ज भएर प्रभु महालक्ष्मी लाइफ बन्नेछ । मर्जरपछिको प्रभु महालक्ष्मीको चुक्ता पुँजी ४ अर्ब १० करोड हुनेछ । यी कम्पनीले ९० करोड रुपैयाँ थप गर्नुपर्ने छ ।
पुँजी वृद्धि गर्न बाँकी आठ निर्जीवन बीमा कम्पनी
यता निर्जीवन तर्फका ८ कम्पनीहरूको समितिले तोके अनुसारको चुक्ता पुँजी पुगेको छैन। निर्जीवन बीमा कम्पनीमध्ये शिखर इन्स्योरेन्स ३० प्रतिशत हकप्रद शेयर जारी गरेर बीमा समितिले तोकेको २ अर्ब ५० करोड रुपैयाँ पु¥याउने भएको छ ।
हाल शिखर इन्स्योरेन्सको चुक्तापँजी २ अर्ब २८ करोड ६० लाख ८१ हजार रुपैयाँ रहेको छ । पुँजी वृद्धिको लागि मर्जरमा नगएका निर्जीवन बीमा कम्पनीहरूमा नेपाल इन्स्योरेन्सको १ अर्ब २४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
प्राधिकरणले तोकेको पुँजी वृद्धिका लागि कम्पनीले १ अर्ब २५ करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ । त्यस्तै, नेको इन्स्योरेन्सले ७५ करोड रुपैयाँ पुँजी थप गर्नुपर्ने छ । हाल उक्त कम्पनीको चुक्ता पुँजी १ अर्ब ७४ करोड रुपैयाँ रहेको छ ।
प्राधिकरण अनुसार एनएलजी इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । उक्त कम्पनीले १ अर्ब १७ करोड रुपैयाँ पुँजी थप गर्नुपर्ने देखिन्छ । त्यस्तै, समितिले तोके अनुसार पुँजी वृद्धिका लागि प्रुडेन्सियल कम्पनीले १ अर्ब २९ करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ ।
हाल उक्त कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले २ अर्ब २३ करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ हाल उक्त कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको छ ।
कति थप्नुपर्छ जीवन बीमा कम्पनीले
प्राधिकरणले तोकेको चुक्ता पुँजी पुयाउने नसक्ने जीवन बीमा कम्पनीहरूमा युनियन लाइफ इन्स्योरेन्स, गुराँस, प्राइम, प्रभु, महालक्ष्मी, एसियन, लाइफ इन्स्योरेन्स, नेशनल लाइफ, राष्ट्रिय बीमा संस्थान, सिटिजन, सन नेपाल लाइफ, रिलायबल, आइएमई लाइफ र मेट लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।
एशियन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । प्राधिकरणल तोकेको ५ अर्ब रुपैयाँ पुँजी वृद्धिका लागि उक्त कम्पनीले २ अर्ब ४८ करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ । त्यस्तै, लाइफ इन्स्योरेन्सको हाल चुक्ता पुँजी २ अर्ब २१ करोड रुपैयाँ रहेको छ । कम्पनीले प्राधिकरण तोकेको पुँजी वृद्धिका लागि २ अर्ब ७८ करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ ।
त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब ३ करोड रुपैयाँ रहेको छ । समितिले तोके अनुसार उक्त कम्पनीले ९६ करोड ४८ लाख रुपैयाँ पुँजी थप गर्नुपर्नेछ । सिटिजन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ उक्त कम्पनीले ३ अर्ब २५ करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ ।
त्यस्तै, सन नेपाल लाइफ, रिलायबल, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । समितिले तोके अनुसारको चुक्ता पुँजीका लागि ३ अर्ब ६० करोड रुपैयाँ पुँजी थप पर्नुपर्नेछ ।
राष्ट्रिय बीमा संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ रहेको छ । समितिले तोके अनुरूपको पुँजी वृद्धिका लागि कम्पनीले अझै ४ अर्ब ८१ करोड रुपैयाँ पुँजी थप गर्नुपर्ने देखिन्छ ।