८ महिनामा ६.६% ले घट्यो सेयर धितो कर्जा
काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनामा सेयर धितो कर्जा ६.६% ले घटेको छ । यसअवधिमा बैंक तथा वित्तीय संस्थाले ७५ अर्ब १८ करोड ६८ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् ।
गत आर्थिक वर्षको असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ८० अर्ब ५० करोड ७८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । केन्द्रीय बैंकको तथ्यांक अनुसार १ करोडभन्दा माथि, २५ लाखदेखि ५० लाख रुपैयाँसम्म र २५ लाख रुपैयाँभन्दा कमको सेयर धितो कर्जा असार मसान्तको तुलनामा घटेको छ ।
यता, ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा प्रवाह भने बढेको छ । ५० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको कर्जा प्रवाह १०.८% ले बढेर ११ अर्ब ७० करोड ४५ लाख रुपैयाँ पुगेको छ । १ करोडभन्दा माथिको कर्जा ५.३% ले घटेर ४४ अर्ब १० करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ । यता, २५ लाखदेखि ५० लाख रुपैयाँसम्म र २५ लाख रुपैयाँभन्दा कमको सेयर धितो कर्जा दुवै १७.१% ले घटेको छ ।
ब्याजदर घटेसँगै सेयर कर्जा बढ्ने अनुमान
चालु आर्थिक वर्ष लागेदेखि नै बैंक तथा वित्तीय संस्थामा तरलताको समस्या देखिएकाले सेयर धितो कर्जा पनि सुस्ताएको जानकारहरुको भनाई छ । त्यस्तै, सेयर धितो कर्जामा नेपाल राष्ट्र बैंकले गरेको कडाईका कारण पनि केही घटेको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर केही घटाएका छन् । ब्याजदर घट्दै जाँदा कर्जा प्रवाह पनि बढ्दै जाने अनुमान लगानीकर्ताले गरेका छन् । अहिले सेयर बजारमा लगानी गर्ने उचित समय भएको उनीहरुको भनाई छ ।