जग्गाको कित्ताकाट खुला गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले लामो समयदेखि रोक्का रहेको जग्गाको कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कित्ताकाट खुला गर्ने निर्णय गरेको हो ।
भू–उपयोग नियमावली, २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । यससँगै ‘भू–उपयोग पहिलो संशोधन नियमावली, २०७९ पनि स्वीकृति गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
कित्ताकाट रोकिंदा यस व्यवसायमा लगानी गर्नेहरुको अरबौं रुपैयाँ फसेको छ । यता, घरजग्गा व्यवसायमै मन्दी आएको अवस्था छ । यसको असर समग्र अर्थतन्त्रमै परेको अनुमान गरिएको छ ।
कित्ताकाट खुला गरेपछि कारोबार सहज हुने अनुमान गरिएको छ । यसअघि नियमावली नबनेको कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो ।