महालक्ष्मी विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । महालक्ष्मी विकास बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज सोमबार (वैशाख ४ गते) अन्तिम दिन हो । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ । यस बैंकले चैत २९ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये ६ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।
बाँकी ४ लाख इकाई सर्वसाधारणका लागि खुला भएको हो । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये २० हजार इकाई ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । महालक्ष्मी विकास बैंकले १० वर्ष अवधिको ‘११% महालक्ष्मी डिबेन्चर २०८९’ जारी गरेको हो । यसमा वार्षिक ११% ब्याजदर दिने बैंकले जानकारी दिएको छ ।
बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गरेको छ । न्यूनतम २५ इकाईदेखि अधिकतम ४ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।