फागुनसम्ममा बैंकहरुले कमाए करिब ४९ अर्ब रुपैयाँ नाफा, नबिलले कमायो ५ अर्ब बढी
काठमाडौं । फागुन अन्तिमसम्ममा बैंकहरुले करिब ४९ अर्ब रुपैयाँ नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक तथ्याँक अनुसार वाणिज्य बैंकहरुले कुल ४८ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएका छन्।
गत माघ महिनासम्म्मा ४० अर्ब २५ करोड रुपैयाँ नाफा कमाएका बैंकहरुले फागुन महिनामा ८ अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएका हुन्।
फागुनसम्ममा नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएको छ। माघसम्ममा ४ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको बैंकले फागुन महिनामा मात्रै १ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएको छ।
यस्तै ग्लोबल आइएमई बैंकले ४ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएको छ भने एनआइसी एशिया बैंकले ४ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ।
नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब ४९ करोड रुपैयाँ नाफा कमाएको छ भने राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ।
फागुनसम्ममा कृषि विकास बैंकको नाफा सबैभन्दा कम छ। उसले ४१ करोड रुपैयाँ मात्रै खुद नाफा गरेको छ। यस्तै सनराइज बैंकले १ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको छ भने सिटिजन्स बैंकले १ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको छ।