उपनिर्वाचनको पर्यवेक्षण गर्न ६ संस्थालाई अनुमति

काठमाडौं । प्रतिनिधि सभा सदस्यको उपनिर्वाचननका लागि ६ संस्थालाई पर्यवेक्षण गर्न अनुमति दिएको छ।
निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ बमोजिम ६ संस्थालाई अनुमति दिइएको आयोगले जनाएको छ। यसका लागि सात वटा निवेदन परेको भए पनि ६ संस्थाले मात्रै आवश्यक प्रक्रिया पूरा गरेको पाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
उपनिर्वाचन पर्यवेक्षणका लागि राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासङ्घ नेपाल, विश्व उपभोक्ता महासङ्घ नेपाल, पूर्व न्यायाधीश फोरम नेपाल र राष्ट्र निर्माण मञ्च नेपालले अनुमति पाएका छन्।
आयोगको यही चैत २८ गतेको बैठकले निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिने निर्णय गरेको प्रवक्ता पौडेलले बताए। बारा-२, तनहुँ-१ र चितवन-२ मा आउँदो वैशाख २ गते उपनिर्वाचन हुँदै छ।