काठमाडौं । अब वैशाख १ गतेदेखि बैंकहरुले निक्षेपको ब्याजदर एकल विन्दुमा झार्ने भएका छन् । वैशाखदेखि लिने निक्षेपमा अब १० प्रतिशतभन्दा तल हुने भएको छ । निक्षेपको ब्याज घटेपछि अब कर्जामा पनि क्रमशः ब्याजदर घट्दै जानेछ ।
नेपाल बैंकर्स संघको बुधबार बिहान बसेको बैठकले १ वैशखदेखि लागू हुने निक्षेपको ब्याजदर १० प्रतिशत भन्दा तल नै कायम गरिने निर्णय गरिएको हो। वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९% र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९% कायम गर्ने निर्णय भएको संघका अध्यक्ष सुनिल केसीले बताए ।
पछिल्लो समय बैंकहरुको ब्याजदर उच्च भएको भन्दै त्यसको विरोध हुँदै आएको थियो । अर्थमन्त्रीदेखि गभर्नरसम्मले ब्याजदर घट्ने बताउँदै आएका थिए । यसैबीच वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् । योसँगै अब कर्जाको ब्याजदर पनि घट्नेछ ।
कर्जाको ब्याजदर के हुन्छ ?
अब कर्जाको ब्याजदर पनि केही सस्तिने अवस्था छ । माघदेखि चैतसम्म घटेको निक्षेपको ब्याजदरको आधारमा बेस रेट जति घट्छ सोही अनुपातमा १ वैशाखदेखि कर्जाको ब्याजदर घट्ने छ ।
तर, आगामी १ वैशाखदेखि निक्षेपको ब्याजदर घटे पनि यसको प्रभावअनुसार कर्जाको ब्याजदर घट्न भने साउनसम्म कुर्नुपर्ने छ ।
राष्ट्र बैंकले निक्षेप र कर्जाको ब्याजदर बीचको औसत अन्तर ४.४ प्रतिशतबाट चैतमा ४.२ प्रतिशत हुँदै असारमा ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेकाले यसलाई समायोजन गर्न पनि बैंकहरूले कर्जाको ब्याजदर घटाउँदै लैजानुपर्ने हुन्छ ।