निक्षेपको ब्याजदर घटाउन सीबीफीनको माग, बैशाखदेखि बैंकको ब्याज ९.९ प्रतिशत कायम गर्ने सहमति
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले राष्ट्र बैंकले निक्षेप ब्याज घटाउनु पर्ने माग राखेको छ ।
मंगलबार बैंकहरूका मालिकहरूको संस्था सीबीफीनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा निक्षेपको ब्याजदर घटाउन माग गरेको हो ।
कार्यक्रममा सीबीफीनका अध्यक्ष पवन गोल्यानले निक्षेपको ब्याज एक अंकमा झार्न आवश्यक रहेको बताए ।
“हाम्रा छिमेकी देशहरूमा ६, साढे ६ प्रतिशत डिपोजिटको ब्याजदर छ भने, हामी कहाँ ११ प्रतिशत हुनुपर्ने आवश्यकता छैन,” उनले भने “यसलाई घटाउनुपर्छ, सिंगल डिजिटमा आउनै पर्छ, ११ प्रतिशत दर कुनै पनि हालतमा सम्भव छैन् ।”
अर्थतन्त्रका सबै सूचकांक सकारात्मक भएपनि बजारमा तरलता प्रभाव नभइरहेको अवस्थालाई समाधान गर्न पनि निक्षेपको ब्याज एक अंकमा झार्न आवश्यक रहेको उनको भनाइ छ ।
यस विषयमा प्रधानमन्त्रीसँग छलफल भएको र दुई प्रतिशत एकै पटक घटाउनुपर्छ भन्ने आफूहरूको भनाइ रहेको उनले बताए । तर, दुई अंक नभए पनि बैशाख १ गतेबाट १० प्रतिशतबाट तल ९.९९ प्रतिशतमा झार्ने प्रतिवद्धता प्रधानमन्त्रीले दिएको उनले बताए ।
कार्यक्रममा सीबीफीनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले बैंकिङ क्षेत्रहरुमाथि ऋण निकालेर नतिर्ने भनेर प्रहार गर्ने समूहका कारण देशको अर्थतन्त्रनै संकटमा पर्ने स्थिति रहेको बताए ।
अमेरिका, स्विट्जरल्यान्ड जस्ता देशहरूको उदाहरण दिँदै उनले बैंकिङ क्षेत्रमाथिको संकट देशकै अर्थतन्त्रको संकट हुने भन्दै यसलाई रोक्न सबै पक्षले काम गर्न आवश्यक रहेको उनको भनाइ छ ।
यस्तै, सीबीफीनका सदस्य महेन्द्रकुमार गोयलले बैंकहरूमा बोर्डका अध्यक्षहरूको केही प्रतिशत सेयर हुने र बाँकी निक्षेपकर्ताहरुको पुँजी हुने भएका कारण बैंकिङ क्षेत्रमाथिको प्रहार आम नागरिकको पुँजीमाथिको प्रहार एवं आक्रमण हुने बताए ।
यस्तै, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूमाथि आक्रमण भइरहेको भन्दै उनले “के ती कर्मचारी विदेशबाट आयत गरिएका हुन् ?” भन्दै चर्काे प्रश्न गरेका छन् ।
कार्यक्रममा सीबीफीनकाका अध्यक्ष गोल्यानले अहिले अनावश्यक रुपमा महँगी बढेको समेत बताएका छन् । उनले तरकारी एवं अन्य खाद्यपदार्थहरूको मूल्य बजारमा अनावश्यक तरिकाले बढीरहेको भन्दै यो नियन्त्रणमा आउनुपर्ने समेत बताएका छन् ।