बाँकेमा उत्पादन भएको १० मेगावाट सौर्य उर्जा राष्ट्रिय प्रसारणमा जोडियो
![inbound4318868361664901165 inbound4318868361664901165](https://www.arthikpati.com/wp-content/uploads/2023/04/inbound4318868361664901165-1024x585.webp)
नेपालगन्ज । औद्योगिक घराना गोल्यान समुहको मुख्य लगानी रहेको पियोर ईनर्जी लिमिटेडले बाँकेको खजुरामा सोलारबाट उत्पादन गरेको १० मेगावाट विद्युत् सफलता पुर्वक राष्ट्रिय प्रशारण लाईनमा जोडिएको छ । खजुरा गाँउपालिका वडा नं ८ मा सो कम्पनिले १० मेगावाट उत्पादन गरि सकेको छ भने थप १० मेगावाट उत्पादन अन्तिम चरणमा पुगेको छ ।
३३ केभी प्रशारण लाईन मार्फत सो विद्युत् कोहलपुर सवस्टेशनमा जोडिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कोहलपुरले जनाएको छ ।
तत्काललाई १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको ऊर्जा डिभिजन (गोल्यान समूह) का प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्यालले जानकारी दिए । ‘अहिले तत्कालका लागि १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडेका छौं,’ उनले भने, ‘करिब २ हप्ता दिनपछि उक्त विद्युत् नियमित प्रसारण हुन्छ ।’ त्यसको करिब दुई महिनापछि थप १० मेगावाट पनि राष्ट्रिय प्रसारण लाइनमा जोड्ने गरी तयारी भएको उनले बताए ।
उक्त ३३ केभी प्रसारण लाइन बैजनाथ–६, कोहलपुर–३, कोहलपुर– ४, बेलनपुरवा, कोहलपुर–६ रझेना, कोहलपुर–८, गोल्छा, कोहलपुर–१० मन्नापुर नहर हुँदै निर्माण भइ चटार हुँदै कोहलपुर सवस्टेसनसम्म पुर्याईएको छ ।
रनियापुरस्थित घिया गाउँमा सोलार विद्युत् परियोजनाबाट उत्पादन भएको विद्युत् बिहीबार बाट राष्ट्रिय प्रसारण लाईनमा जोडन सुरु गरिएको विद्युत् प्राधिकरण वितरण केन्द्र कोहलपुरका प्रमुख सुरज रेग्मीले बताए । ‘अहिले परीक्षण प्रसारण हुन थालेको छ,’ उनले भने, ‘प्रारम्भिक परीक्षण प्रसारण भएपछि यसलाई नियमित गर्छाैं ।’ उक्त प्रसारण लाइन सफल भएपछि केही समयमा सोही कम्पनीबाट थप १० मेगावाट विद्युत् खरिद गर्ने उनले बताए ।