भारतीय राष्ट्रपति मुर्मू लडाकु विमानमा
काठमाडौं । भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले शनिबार लडाकु विमानमा उडान भरेकी छिन् । उनले असम राज्यको तेजपुर हवाई अड्डाबाट सुखोई सु २० एमकेआई लडाकु विमानमा उडान भरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सो विमानमा उडान भर्नुअघि राष्ट्रपतिलाई ‘गार्ड अफ अनर’ दिइएको थियो । राष्ट्रपति मुर्मू अप्रिल ५ देखि ८ सम्म असमको तीन दिने राजकीय भ्रमणमा छिन् ।
शुक्रबार राष्ट्रपति मुर्मू राज्यको राजधानी गुवाहाटीमा उच्च अदालत स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित समारोहमा सहभागी भएकी छिन् । सो अवसरमा उनले महिला तथा वृद्धवृद्धाको सुरक्षाका लागि बनाइएको मोबाइल एप ‘भोरोक्सा’को शुभारम्भ गरेकी थिइन् ।
सो अदालतको सन् १९४८ मा स्थापना भएको हो । भ्रमणको दोस्रो दिन राष्ट्रपतिले आसामको काजिरङ्गा राष्ट्रिय निकुञ्जमा गज उत्सव २०२३ को उद्घाटन गरिन् ।
असमका मुख्यमन्त्री हिमन्त विश्वा सरमा र राज्यका गभर्नर गुलाबचन्द कटारियाले बिहीबार गोलाघाटको बोकाखाटको जनरल फिल्ड हेलिप्याडमा राष्ट्रपति मुर्मुलाई स्वागत गरेका थिए ।