प्रधानमन्त्रीलाई दक्षिण एसियाली महिला विकास मञ्चको ज्ञापनपत्र
काठमाडौँ । दक्षिण एसियाली महिला विकास मञ्चको प्रतिनिधि मण्डलले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा भेट गरी ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा हरित औद्योगिक पार्कको सफल कार्यान्वयनका लागि नेपाल सरकारको महिला उद्यमीका लागि विशेष कार्यक्रम अन्तर्गत चलिरहेको काभ्रेको पाइलट प्रोजेक्टलाई महिला उद्यमी हरित औद्योगिक पार्क नामकरण गरी, अन्य ६ प्रदेशमा पनि यस्तै पार्क स्थापनाका लागि महिला उद्यमी हरित औद्योगिक पार्क ऐनको रूपमा कानुन बनाउन, र साथै डिपिआर अनुसार बजेट विनियोजनको लागि सरकारसँग आग्रह गरे गरेका थिए ।ज्ञापन पत्रमा लघु, साना तथा मझौला महिला उद्यमीका लागि उपयुक्त वातावरण सिर्जना हुने यस्ता आयोजना कार्यान्वयनमा केन्द्रित हुँदै राष्ट्रिय अर्थतन्त्रमा महिला उद्यमीहरूको भूमिकाको महत्त्वमा पनि जोड दिइएको छ ।
अध्यक्ष प्रमिला आचार्य रिजालको नेतृत्वमा मञ्चको प्रतिनिधिमण्डलले भेटवार्ताका क्रममा अध्यक्ष रिजालले दक्षिण एसियाली महिला विकास मञ्चले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकाको सहकार्यमा, प्रदेश ३ पाँचखाल नगरपालिकाको होक्सेमा सुरु गरेको पहिलो महिला उद्यमी हरित औद्योगिक पार्क परियोजनाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थियो ।
नेपालको हरित औद्योगिक अवधारणालाई एकीकृत जलवायु परिवर्तन अनुकूलन रणनीतिमार्फत अगाडि बढाउने लक्ष्यका साथ पार्कलाई “कृषि-पर्यटन हरित औद्योगिक पार्क” को रूपमा ब्रान्ड र प्रचार गरिनेछ। यो परियोजना नेपालमा पहिलो र दक्षिण एसियामा दोस्रो हो, जसमा कृषि खाद्य क्षेत्रका साथै पर्यटन केन्द्रित सेवा क्षेत्रसँग सम्बन्धित ५० वटा साना उद्योग स्थापना गरिनेछ ।