दशकपछि अष्ट्रेलिया यात्रा गर्दै ‘मंगोलियन हार्ट’

काठमाडौं । नेपालको पुरानो र चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले १० वर्षपछि अष्ट्रेलियामा सांगीतिक यात्रा गर्ने भएको छ।
नेपाली टच अष्ट्रेलियाको व्यवस्थापनमा ८ सहरमा ब्यान्डले सांगीतिक प्रस्तुति दिने भएको हो।
अप्रिल १०बाट म्यूजिकल टुर सुरु हुने ब्यान्डका म्यानेजर एवम् गितारिस्ट बबि लामाले बताए। ‘हामी शुक्रबार नै नेपालबाट अष्ट्रेलिया प्रस्थान हुँदैछौं,’ लामाले भने।
टुर व्यवस्थापक नेपाली टच अष्ट्रेलियाका सिइओ दिपेश पुनका अनुसार ब्यान्डको पहिलो सांगीतिक प्रस्तुति १० तारिखमा मेल्बर्न शहरमा हुनेछ। १३ ताखिरमा ब्रिस्बेन, १५ मा सिड्नी, १६ मा केन्बेरा, २३ मा डार्विन, २३ मा पर्थ, २९ मा होबर्टहुँदै ३० तारिखमा एडलेडमा पुगेर टुँगिनेछ।
३० वर्षअघि सन् १९९२ मा स्थापना भएको यो ब्यान्डबाट चर्चामा आएका गायक हुन्, राजु लामा। लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन्।
ब्यान्ड यात्रा ३० वर्ष पुगेको अवसरमा अष्ट्रेलिया टुर गर्न पाउँदा उत्साहित छन्, ब्यान्डका फ्रन्ट म्यान गायक राजु लामा।
‘बाँदलपारीको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’ आदि मंगोलियन हार्टका चर्चित गीत हुन्।