आर्टमान्डूको ‘माया जाने हो त ट्र्याक्टरमा’ सार्वजनिक

‘गुडाउने ट्र्याक्टरले
उडाउने हेलिकोप्टरले…!’
आर्टमान्डूले नयाँ म्युजिकल फिल्म ‘माया जाने हो त ट्र्याक्टरमा’ सार्वजनिक गरेको छ। ट्रयाक्टर ड्राइभरको जीवनशैली र नेपालको ग्रामीण परिवेशलाई प्रतिबिम्बित गर्नेगरी उक्त गीत निर्माण गरिएको छ।
एकनारायण भण्डारीको शब्द रहेको गीतमा आशिष अविरलको स्वर तथा संगीत छ। गीतको भिडियोमा सम्राट थापा, अन्जना बराइली र प्रकाश नेपालीको अभिनय रहेको छ।
‘तीनपाते’, ‘के माया लाग्छ र’, ‘घुमीघुमी’ जस्ता चर्चित म्युजिकल फिल्म निर्माण गरेको आर्टमान्डूको यो फरक प्रयास हो। ‘स्टाइलको पराकाष्ठ अनि जीवनमा अधिकतम बाँच्, हास्न, नाच्न जानेका मजेदार पात्रमाथि यो सिर्जना समर्पित गर्न पाउँदा एकदम खुशी छौं’, निर्देशक नवीन चौहान भन्छन्।
गत वर्ष पाँचथर, इलामको सीमानामा रहेको सप्तमी बजारमा यो भिडियोको छायांकन गरिएको थियो।
यसपछि आर्टमान्डूले ‘अटो गीत’ पनि छिट्टै सार्वजनिक गर्ने निर्देशक चौहानले बताए। निर्देशक चौहान म्युजिकल फिल्मसँगै फिचर्ड फिल्मको तयारीमा पनि जुटेका छन्।