अर्थतन्त्रमा गतिशिलता ल्याउन निर्माण क्षेत्रलाई चलायमान बनाउनु पर्छः परिसंघ
काठमाडौं । नेपाल उद्योग परिसंघले नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग अर्थतन्त्र सुधारका विषयमा छलफल गरेको छ । परिसंघका कार्यवाहक अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मन्त्री ज्वालालाई आज बधाई दिंदै अर्थतन्त्र सुधारका लागि सुझाव प्रस्तुत गरेको हो ।
परिसंघका कार्यवाहक अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभाव, निर्माण क्षेत्रमा भएको ढिलाइलगायतका विषयमा ध्यानाकर्षण गराए । निजी क्षेत्रको मनोबल बढाउने गरी काम गर्नुपर्नेमा उनले जोड दिए । उनले निर्माण क्षेत्रलाई चलायमान बनाउन सकिए अर्थतन्त्रलाई गतिशील बनाउन सहयोग गर्ने बताए ।
निर्माण क्षेत्रमा दिईनुपर्ने भुक्तानी छिटो निकासा गराउन आग्रह गर्दै उनले त्यसले बजारमा तरलता बढाउन सहयोग पुर्याउने बताए । यस्तै न्यून मूल्यमा बोलकबोल गर्नेलाई परियोजना दिने विषयमा सुधार गर्न, धेरै परियोजनामा बजेट छर्नुभन्दा निश्चित परियोजना समयमै सक्ने गरी अगाडी बढ्नुपर्ने सुझाव परिसंघले दिएको छ ।
परिसंघसँगको भेटमा मन्त्री ज्वालाले न्यून मूल्यमा बोलकबोलको विषय विगतमा सुधार गर्न खोजिए पनि प्रभावकारी हुन नसकेको सन्दर्भमा सुधार गर्न लाग्ने बताए । उनले परिसंघले अगाडि सारेको वर्तमान अर्थतन्त्रको अवस्था र सुधारका लागि चालिनुपर्ने उपायसहितको रिबुटिङ नेप्लिज इकोनिमी अवधारणाका लागि धन्यवाद दिए ।